काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न संविधानको परिधिभित्र रहेर सबै जिम्मेवार पक्ष एकताबद्ध हुन जरुरी छ । जनताको प्रतिनिधित्व गर्ने सर्वोच्च निकाय प्रतिनिधिसभामा सांसद आफ्नो जिम्मेवारी बहन गर्न सदा तत्पर र अडिग रहनुपर्छ । राष्ट्र र जनता केन्द्रित भई सांसदले आफ्ना भूमिका निर्वाह गर्नुको विकल्प छैन ।
अहिले राजनीतिक नेतृत्व, कार्यकर्ताको भनाइ र गराइबीचको तादाम्यता कहीँकतै नमिलेजस्तो अनुभूति भइरहेको छ । हामी जे गर्न सक्छौँ, त्यही बोल्नुपर्छ । पछिल्लो समय सरकारले गरेका राम्रा कामलाई सम्मान गर्नैपर्छ । राम्रोलाई राम्रो भन्न हिच्किचाउनुपर्छ जस्तो मलाई लाग्दैन । पछिल्लो समय सरकार भ्रष्टाचारविरुद्ध जुन ढङ्गले अगाडि बढिरहेको छ त्यो निकै सराहनीय छ । सुशासन कायम गर्ने प्रयत्न गरिरहेको छ । जनतालाई सुशासनको अनुभूति दिलाउन सरकारमात्र नभई राजनीतिक दल, सरोकारवाला निकाय, सञ्चारमाध्यमलगायत एकजुट हुनु आवश्यक छ । राष्ट्रको हितमा एकताबद्ध भएमा मात्र सुशासन कायम गर्न सकिन्छ ।
एक वर्षको समीक्षा गर्दा यो अवधिलाई मैले सिकाइका रूपमा लिएको छु । संसद्भित्र सांसदको मुख्यतः दुईवटा अभिभारा रहेको हुन्छ । एउटा विधेयक निर्माणमा सहभागी हुनु र अर्को विकास निर्माणका काममा सहजीकरण गर्नु । निर्वाचनका अवधिमा मतदातासमक्ष विकास निर्माणका सन्दर्भमा व्यक्त गरेका प्रतिबद्धता पूरा गराउनेतर्फ अग्रसर हुने दायित्व पनि हामीमाझ छ । कानुन निर्माण प्रक्रियामा सांसदको अनिवार्य उपस्थिति रहन्छ । तर अघिल्लो अधिवेशनमा विधायिकी काममा अलि कम ध्यान पुग्यो कि भन्ने मलाई लागेको छ ।
संसद्को चालु हिउँदे अधिवेशन विधेयक अधिवेशनको रूपमा सफल होस् । संसद्लाई पर्याप्त काम (बिजनेस) दिने सरकारको दायित्व हो । यसमा सरकार कति सफल हुन्छ पर्ख र हेरको अवस्थामा छौँ । सङ्घीयता कार्यान्वयन, सङ्क्रमणकालीन न्यायजस्ता महत्त्वपूर्ण विधेयकमाथिको छलफललाई प्रभावकारी बनाउन सांसदले अध्ययन, अनुसन्धानलाई सशक्त बनाई थप क्रियाशील हुन आवश्यक छ ।
सङ्घीयताले जन्माएको कान्छो जिल्ला रुकुमपूर्व हो मेरो निर्वाचन क्षेत्र । यो धरातलीयरूपमा हिमाली जिल्ला र भौगोलिक हिसाबले विकट जिल्लाको रूपमा चिनिन्छ । निर्वाचनको समयमा जनतामाझ यस क्षेत्रको विकास र समृद्धिका लागि गरेका वाचालाई साकार पार्ने अनुकूल वातावरण निर्माण हुनसकेको छैन । मुलुकको भौगोलिक बनावटअनुसार नीति–निर्माण गरी कार्यान्वयन गर्नुपर्ने हो तर तराईका फाँटमा लागू हुने विद्यालयका मापदण्ड, विकासका मानकहरू हिमाली जिल्लालाई पनि सोही आधारमा मापन गरिन्छ, जुन निकै अव्यवहारिक छ ।
मेरो निर्वाचन क्षेत्रले प्रशासनिक सङ्घीयता अझै पनि प्राप्त गर्न सकेको छैन । राजनीतिक सङ्घीयता ल्याएका छौँ । प्रशासनिक सङ्घीयता पूर्णरूपमा अझै पनि ल्याएका छैनौँ । रुकुमपूर्वको ३१ वडामध्ये करिब २२ वडामा सचिव छैनन् । अझै कर्मचारी व्यवस्थापन गर्न सकिराखेका छैनौँ । केही पालिकामा कार्यकारी अधिकृत नै छैनन् ।
जो मन्त्री भयो उसैको जिल्लामा विकास निर्माणका कामलाई तीव्रता दिने संस्कार अझै पनि हामीले तोड्न सकेका छैनौँ । यस क्षेत्रका जनताले विकास निर्माणको जुन अपेक्षा गरेका थिए । सोहीअनुरुपको बजेट विनियोजन हुनसकेको छैन । अपेक्षा गरौँ आगामी दिनमा यस्ता समस्या निराकरण हुँदै जानेछन् । विधायिकी कामको सिलसिलामा मेरो भूमिकाप्रति मतदाता सन्तुष्ट छन् भन्ने अपेक्षा छ ।
सांसद घर्तीको परिचय
सांसद पूर्णबहादुर घर्ती नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा आबद्ध छन् । लुम्बिनी प्रदेश, रुकुमपूर्व–१ बाट उहाँ प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित भएका हुन् । विसं २०४१ देखि राजनीतिमा प्रवेश गरेका नेता घर्ती विसं २०५६ मा नेकपा (माओवादी केन्द्र) केन्द्रीय समितिमा निर्वाचित भएका थिए। साथै उनी विसं २०६५ देखि २०६६ सम्म नेपाल टेलिभिजनको बोर्ड अध्यक्षसमेत रहेका थिए । सङ्घीयता कार्यान्वयनको पहिलो कार्यकालमा उनी लुम्बिनी प्रदेशको पहिलो सभामुख रहेका थिए । सांसद घर्तीसँगको कुराकानीमा आधारित
प्रतिक्रिया दिनुहोस्