Ads

आजदेखि नेपालका धेरै स्थानमा वर्षाको सम्भावना


काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज सोमवारदेखि नेपालका धेरै स्थानमा वर्षाको सम्भावना रहेको बताएको छ ।

महाशाखाले आज विशेष बुलेटिन जारी गर्दै पश्चिमी न्यून चापीय प्रणालीको असरले वर्षा, हिमपात हुने सम्भावना रहेको जनाएको हो । जसअनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण सोमबारदेखि शुक्रबारसम्म नेपालको धेरै स्थानहरूमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना छ ।

चिसोका कारण दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । सोमवारदेखि पश्चिमी भूभाग, विशेष गरी सुदूरपश्चिम र कर्णाली प्रदेशका माथिल्लो भेगमा वर्षा हुने सम्भावना छ ।मंगलवार यसको असर अझै बढी देखिने छ। जसअनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशभर मंगलबार पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना छ ।

त्यस्तै सोमवार लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मंगलवारदेखि बुधबारसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । बिहीवार बागमती, मधेश र कोशी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

Ads

सम्बन्धित पोष्टहरू