म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा सामूहिक आलुखेती विस्तार गरिएको छ ।
रघुगङ्गाको वडा नं १ बेग, वडा नं २ भगवती, वडा नं ५ झिँ, वडा नं ६ पाखापानी र वडा नं ८ कुइनेमङ्गलेका कृषक समूहलाई अनुदानमा बीउ, मल र प्राविधिक सहयोगमा सामूहिक आलुखेती विस्तार गरिएको छ ।
हरेक कृषक समूहले कम्तीमा २०० रोपनी जग्गामा लगाउने सम्झौतासहित पाँच ब्लक बनाएर गाउँपालिकाबाट सामूहिक आलुखेती कार्यक्रमलाई कार्यान्वयन गरिएको कृषि शाखा संयोजक सविना शर्माले जानकारी दिए ।
गाउँपालिकाको रु ३० लाख र कृषक समूहबाट रु ३० लाख बराबरको श्रमदानसहित रु ६० लाख लागत अनुमानको बजेटबाट रघुगङ्गामा आलुखेती लगाउने अभियान सञ्चालन गरिएको छ ।
सामूहिक आलुखेतीलाई प्रभावकारी बनाउन एक ब्लकमा रु १२ लाखको कार्यक्रमअन्तर्गत गाउँपालिकाको रु छ लाख र कृषक समूहको रु छ लाखसहितको योजनाअनुसार आलु ब्लक कार्यान्वयन गरिएको कृषि शाखाले जनाएको छ ।
निर्वाहमुखी कृषिका माध्यमबाट उत्पादन गर्दै आएको आलुखेतीलाई थप व्यवस्थित बनाउँदै व्यावसायिकरुपमा अघि बढाउन आलु ब्लक खेती विस्तार गरिएको कृषि शाखा संयोजक शर्माले बताए ।
उक्त कार्यक्रमअन्तर्गत रघुगङ्गा–२ रिसिन चौतारीस्थित बरखर्क कृषि समूहमा आबद्ध २४ कृषकले सामूहिकरुपमा २०० रोपनी जग्गामा आलुखेती गरेका छन् । समूहमा आबद्ध सदस्यले सामूहिकरुपमा खेती लगाएका हुन् ।
प्रतिक्रिया दिनुहोस्