काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनामा सरकारले बनाएको आयोगले नै दोषी देखाएपछि भौतिक पूर्वाधार तथा यातयातमन्त्री प्रकाश ज्वालाले राजीनामा दिनुपर्ने बताएका छन्।
ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकमा उनले मन्त्रीको गलत क्रियाकलापले बालकुमारीमा मान्छेको ज्यान गएको सरकारी प्रतिवेदन रहेको बताए । त्यसकारण मन्त्री ज्वालाले पदबाट राजीनामा दिनुपर्नेमा उनले जोड दिए ।
प्रधानमन्त्रीले पनि मन्त्रीलाई बर्खास्त गर्न नसकेको ओलीको भनाइ छ । “मन्त्रीको गलत क्रियाकलापले मान्छेको ज्यान गएको प्रतिवेदन छ । मन्त्रीमा नैतिकता छैन,” उनले भने, “राजीनामा दिनुपर्दैन ? प्रधानमन्त्रीमा हटाउने हुती छैन ।”
आफूमाथि दोष लाग्दा समेत मन्त्री ज्वाला गाडीमा राष्ट्रिय झन्डा हल्लाउँदै हिँडिरहेको उनले टिप्पणी गरे । “त्यो मन्त्री बसिरहन मिल्छ ? लोकलाज पनि छैन । नैतिकता नभएको मन्त्री, हुतीहारा प्रधानमन्त्री,” ओलीले भने, “आफूमाथि दोष लाग्दा पनि झन्डा हल्लाउँदै हिँडेका छन् ।”
प्रतिक्रिया दिनुहोस्