काठमाडौं । गण्डकी प्रदेशसभामा प्रतिनिधित्व नै नभएको नेकपा एकीकृत समाजवादीको तर्फबाट गैरसांसदलाई मन्त्री बनाउने तयारी सुरु भएको छ ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा नेकपा एसको एक जना पनि सांसद छैन । केन्द्र र प्रदेशमा पाँच दलीय गठबन्धन बनेको छ । जसमा एक नेकपा एस हो । तर यो दलको गण्डकी प्रदेश सभामा एक जना गैरसांसदलाई मन्त्री बनाउने तयारी भएको बताइएको छ ।
प्रदेशमा नयाँ सरकार बन्दा ६ वटा प्रदेशमा नेकपा एसको प्रतिनिधित्व छ । तर, गण्डकी प्रदेश सरकारमा छैन ।
नेपाली कांग्रेसका एक जना मन्त्रीले राजीनामा दिने र समाजवादीबाट एक जनालाई गण्डकी प्रदेश सरकारमा मन्त्री बनाउने तयारी भएको नेकपा एसकाकेन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठले जानकारी दिए ।
संविधानअनुसार ६० सदस्यीय प्रदेश सभामा १२ जना मन्त्री बनाउन सक्ने व्यवस्था छ । गण्डकीमा त्यो संख्या पूरा भइसकेको छ । अहिले नेपाली कांग्रेसबाट ६ जना, नेकपा माओवादी केन्द्रका ४ जना, एकीकृत समाजवादीबाट एक जना र स्वतन्त्रबाट एक जना मन्त्री छन् । गठबन्धबाट अलग भएको र सरकारलाई समर्थन कायमै राखेको राष्ट्रिय जनमोर्चाले मन्त्री लिएको छैन ।
संविधानअनुसार थप मन्त्री बनाउन नमिल्ने भएकाले एक जना कांग्रेसका मन्त्रीले राजीनामा दिएर समाजवादीका गैर सांसदलाई मन्त्री बनाउने तयारी भएको हो ।
संविधानले दिएको अधिकार प्रयोग गर्दै ६ महिने मन्त्री बन्न पाउने छ । मन्त्री बनेमा श्रीनाथ बराल वा प्रतापलाल श्रेष्ठले मध्य एक जनाले पाउने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्