काठमाडौँ, देशव्यापी रूपमा दादुरा–रुबेलाविरुद्धको खोप अभियान आइतबारदेखि सुरु हुने भएको छ । सरकारले दादुरा–रुबेला खोप अभियान फागुन १३ देखि चैत ७ गतेसम्म सञ्चालन गर्ने भएको हो ।
स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा। अभियान गौतमले दादुरा तथा रुबेलाको प्रकोप बढेकाले खोप अभियान सञ्चालन गर्नु परेको जानकारी दिए । उनले कोरोना महामारीका कारण नियमित खोप लगाउन छुटेकाले दादुराको प्रकोप देखा परेको बताएका छन् । उनले खोप अभियानमा ५७ लाख ४२ हजार ९९३ लाई खोप प्रदान गर्ने लक्ष्य रहेको जानकारी दिए । उनअनुसार २४ जिल्लाका नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप दिइने छ ।
तराईका २१ जिल्ला र काठमाडौँ उपत्यकाका तीन जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप दिन लागिएको हो । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डितले तराई र काठमाडौँ उपत्यकाका जिल्लामा धेरैजसो १५ वर्षमुनिका बालबालिकामा दादुरा देखिएकाले यी जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाउन लागिएको बताए । २०७९ मङ्सिर ३ देखि २०८० पुस १५ सम्मको तथ्याङ्क अनुसार ती जिल्लाका एक हजार ३४९ जनामा दादुरा सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमितमध्ये एक जनाको निधन भएको छ ।
नेपालमा ३५ वर्षअघिदेखि दादुरा र ११ वर्षदेखि दादुरा–रुबेला खोप अभियान सञ्चालन हुँदै आइरहेको छ । सरकारले सन् २०१९ मा दादुरा–रुबेला रोग नियन्त्रण गर्ने लक्ष्य राखेको थियो । सो लक्ष्य प्राप्त नभएपछि पुनः २०२३ सम्ममा नियन्त्रण गर्ने अर्को लक्ष्य रोखेको थियो ।
प्रतिक्रिया दिनुहोस्