काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०’ प्रस्तुत गरेका छन्।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री श्रेष्ठले राजनीतिक दलसम्बन्धी विधेयक पेश गरेका हुन्।
बिहीबारको बैठकमा संसदमा कोरम नपुगेपछि सरकारले राजनीतिक दलसम्बन्धी विधेयक प्रस्तुत गर्न पाएको पाएको थिएन। राजनीतिक दलसम्बन्धी ऐन २०७३ को केही व्यवस्थामा अध्यादेशमार्फत् संशोधन भएको थियो। तर उक्त अध्यादेश खारेज भएको अवस्थामा ऐनको साबिककै व्यवस्था कायम राख्न आवश्यक देखिएको भन्दै मन्त्री श्रेष्ठले राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभासमक्ष पेश गरेका हुन्।
बैठकमा उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘राजनीतिक दलसम्बन्धि ऐन, २०७३ को केही व्यवस्थाहरुमा अध्यादेशले संशोधन गरेको र सो पश्चात उक्त अध्यादेश खारेज भएको अवस्थामा ऐनको साविककै व्यवस्था कायम राख्न आवश्यक देखिएकाले राजनीतिक दलसम्बन्धि ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक यस सम्मानित प्रतिनिधि सभामा पेश गर्दछु।’
बैठकले सभामुख देवराज घिमिरेले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनालाई भने बहुमतले अस्वीकृत गरेको छ। विधेयकमाथि अब प्रतिनिधिसभामा छलफल हुनेछ।
प्रतिक्रिया दिनुहोस्