इनरुवा । जिल्ला सुरक्षा समितिले सुनसरीमा शुरु गरेको ‘सीमा पैदल यात्रा तथा अन्तरक्रिया’ कार्यक्रममा भारतीय सीमासुरक्षा बल (एसएसबी)का कारण सीमा क्षेत्रका नेपालीलाई सास्ती भएको भन्दै स्थानीयले सुरक्षाको माग गरेका छन् । भारतीयले बिनाकारण दुःख दिँदा सास्ती हुने गरेको भन्दै केन्द्रीयस्तरबाटै सुरक्षाको पहल गर्न स्थानीयले माग गरेका हुन् ।
एसएसबीले नाकामा नेपालीलाई पटकपटक कुटपिट गर्ने र लुट्ने गरेको भन्दै सीमाक्षेत्रमा प्रभावकारी सुरक्षाको व्यवस्था गरिनुपर्ने हरिनगरका स्थानीय इसराइल मन्सुरीले बताएका छन् । दुई देशको सीमा नाका खुला भएकाले नेपाली रोजगार र किनमेलका लागि नाका जाने गरेका उनको भनाइ रहेको छ ।
नाकामा भारतीय सुरक्षा बलले नेपालीलाई कुटपिट गर्ने गरेकाले सुरक्षाको माग गरिएको कासिम मियाँले बताएका छन् । केही दिनअघि पनि एसएसबीले नेपाल प्रवेश गरेर परिवारका सदस्यमाथि कुटपिट गरेको उनको भनाइ रहेको छ ।अन्तर्राष्ट्रिय सीमा सम्झौताअनुसार दशगजा क्षेत्रमा भौतिक संरचना निर्माण गर्न र प्रयोग गर्न नपाउने प्रावधान भए पनि नेपाल-भारत सिमानामा पर्ने दशगजा क्षेत्रमा भारतीयले निर्वाधरूपमा घरटहरा बनाउने गरेको हरिनगरका अताउल अन्सारीले बताएका छन् ।
एसएसबीको गरेको व्यवहारका कारण घरै छोड्नुपर्ने अवस्था सिर्जना हुन थालेको स्थानीय महम्मद सहवाज आलमले बताएका छन् । सीमाक्षेत्रमा विगतदेखि नै आवागमनमा कुनै रोक नभए पनि पछिल्लो समय भारतीय पक्षबाट कृषि कार्यमा समेत अवरोध हुने गरेको उनले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्