काठमाडौं । एमालेका अध्यक्ष केपी ओली १०औं महाधिवेशनबाट सर्वसम्मत तरिकाले नेतृत्व चयनको प्रयासमा रहेका छन् । वडा र पालिकामा अधिकांश स्थानमा सर्वसम्मत नेतृत्व चयन गरेर महाधिवेशनमा होमिएको एमाले नयाँ नेतृत्व सर्वसम्मत चयन गर्ने प्रयास जारीराखेको छ ।
ओली पक्षका नेताहरु नै पदाधिकारीको एक पदमा दुई वा दुई भन्दा बढीले दाबी गरेपछि सर्वसम्मत नेतृत्व चयनमा अप्ठेरो आइपरेको छ ।
ओली पक्षका ईश्वर पोखरेल र सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्षमा दाबी गरेका छन्। सहमति भए पछाडि फर्के पनि निर्वाचन भएमा आफू चित्ने नेम्वाङ बताइरहेका छन् ।
महासचिवमा पनि ओली पक्षमा विष्णु पौडेल र शंकर पोखरेलेको दाबी छ । पौडेल पनि सर्वसम्मत तरिकाले नेतृत्व चयन हुनु पर्नेमा जोड दिइरहेका छन् ।
त्यस्तै नवौं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित ओलीनिकटकै गोकुल बाँस्कोटा र महेश बस्नेतले पनि सचिवमा दाबी गरिरहेका छन्। यी दुबै जना नेकपा बन्दा मनोनित गरेर केन्द्रीय सदस्य बनाइएका थिए ।
ओली आफ्नैबाट घेरीएपछि सबै पदाधिकारीका दाबेदारलाई बोलाएर सहमति गराउन प्रयास गरीरहेका छन् ।
सौराहस्थित विभिन्न होटलमा ओली पक्षका नेताहरु पनि समूह बनाएर छलफल गरीरहेका छन् ।
ओलीले केहि नेताहरुसंग छलफल गरेर तयार पारेको केन्द्रीय कमिटी र पदाधिकारीको सूचीमा नै उनी पक्षबाट विरोध भएको छ ।
उता ओलीविरुद्ध अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका भीम रावलले चुनावी प्रचारलाई तीव्र बनाएका छन्।
उनले बन्द सत्रस्थल सेभेनस्टार होटलमा भेला भएका महाधिवेशन प्रतिनिधिसँग बिहानैदेखि भोट मागिरहेका छन्।
शनिबार पहिलो दिनको बन्द सत्रले पदाधिकारी र केन्द्रीय सदस्य चुन्ने सर्वाधिकार ओलीलाई दिएको थियो।
प्रतिक्रिया दिनुहोस्