Ads

कैलालीको लम्कीमा निर्माणाधीन मोहनलाल नगर उद्यान अलपत्र


काठमान्डौ । ९४ करोड लागतमा २०७५ सालबाट निर्माण शुरू गरिएको कैलालीको लम्कीमा निर्माणाधीन मोहनलाल नगर उद्यान अलपत्र अवस्थामा रहेको  छ । उक्त उद्यानमा हालसम्म २ करोड ५२ लाख रकम खर्च गरिए पनि उपलब्धि शून्यजस्तै देखिएको छ । नगर गौरवको योजनामा समावेश गरी वृहत् नगर उद्यान बनाउने भन्दै निर्माण शुरू गरिएको पार्कमा करोडौं रकम खर्च हुँदा पनि लाल सामुदायिक वन वरिपरि ६ किलोमिटर घेर्नुबाहेक अरू कुनै काम भएको देखिंदैन ।

‘पार्क बनाउने भनिएको ठाउँमा २ करोड ५२ लाख खर्च गरी निर्माण गरिएको वाल चर्किसक्यो, तारजाली र फलामे डन्डीमा पनि खिया लागिसकेको स्थानीय प्रकाश थापाले बताएका छन् । लम्कीचुहा नगरपालिकाले टेन्डर आह्वान गरी वाल निर्माण र जाली लगाउने काम गरे पनि त्यसपछि भने अन्य काम अघि बढाएको छैन ।

नगरपालिकाको उदासीनताका कारण नगर उद्यान आयोजना अलपत्र परेको स्थानीयहरूको आरोप छ । ‘निर्माण समितिको सचिव बनेर काम अघि बढाएको थिएँ । जति राम्रो काम गर्दा पनि नगरपालिकाबाट प्रोत्साहन नपाएपछि मैले सचिव पदबाट राजीनामा दिएँ,’ देवानन्द जैशीले भने । पूर्व नगरप्रमुख महादेव बजगाईंको टीमले रूख काट्ने अनुमति नलिई काम अघि बढाएकाले अहिले समस्या देखिएको लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाहीले बताएकी छिन् ।

‘पार्क निर्माण कार्य अघि बढेको क्षेत्र सामुदायिक वन हो । त्यहाँ रूखहरू छन् । काम अघि बढाउनका लागि रूख काट्नुपर्छ, तर वनले रूख कटानको अनुमति दिएको छैन । हामी वनका पदाधिकारीसँग निरन्तर छलफलमा छौं । छिट्टै टुंगोमा पुग्छौं, त्यसपछि निर्माण कार्य अगाडि बढ्छ,’ मेयर शाहीले भनिन् ।

९४ करोड लागत रहेको मोहनलाल नगर उद्यान निर्माणका लागि ७० प्रतिशत केन्द्र सरकार र ३० प्रतिशत लम्कीचुहा नगरपालिकाले व्यहोर्ने गरी सम्झौता गरिएको छ । प्रकृतिलाई असर नपर्ने गरी पार्क निर्माण गर्ने भनिएकोमा करिब ५५ रूख काट्नैपर्ने देखिएको छ । तर, रूख काट्ने अनुमति वन कार्यालयले दिएको छैन ।

Ads

सम्बन्धित पोष्टहरू