Ads

वनकरियासहित उद्यमीलाई व्यावसायिक योजना तालिम


हेटौँडा। मकवानपुरको मनहरि गाउँपालिकामा रहेका लोपोन्मुख वनकरिया समुदायका महिला उद्यमीलाई बजारीकणसहित ग्रीन फाउण्डेसन नेपालले जिएफएन व्यावसायिक योजना बनाउने तालिम प्रदान गरेको छ । वनमा आधारित उद्यमको दिगो विकास र व्यवस्थापन गर्दै समुदायलाई वनबाट आयमा जोड्ने उद्देश्यसहित व्यावसायिक योजनाको तालिम दिइएको हो ।

तालिममा बागमती प्रदेशसभा सदस्य भारती पाठकले वनबाट समृद्धि सम्भव भएको भन्दै वनमा आधारित उद्यम विकासका लागि यस्ता तालिमले सहयोग गर्ने बताउनुभयो । उनले महिलालाई प्राकृतिक स्रोतको अधिकारमा जोड्दै उद्यमी बनाउन वनमा आधारित उद्यमको भूमिका महत्वपूर्ण रहेको जनाए । प्रदेशसभा सदस्य पाठकले महिलालाई उद्यमसँगै उत्कृष्ट व्यवसाय गर्न आफ्नो साथ र सहयोग रहेको स्पष्ट पारे । वनमा आधारित उद्यम र खेर गएको जडिबुटीलाई उचित व्यवस्थापन गर्न नीतिगत सुधारका लागि पहल गर्ने उहाँको प्रतिबद्धता थियो ।

संस्थाले देशभरबाट सामुदायिक वनमा आधारित उद्यमीलाई स्थापित गराउने अभियानअन्तर्गत मकवानपुरमा रहेका महिला उद्यमीलाई तालिम दिएको संस्थाका अध्यक्ष घनश्याम पाँडेले जानकारी दिए उनका अनुसार समुदायमा रहेका विपन्न, लोपोन्मुख र महिलालाई वन व्यवस्थापन गर्दै उद्यमी बनाउन संस्थाले यो अभियान चलाएको हो । अध्यक्ष पाँडेले अबको केही वर्षमा नै प्रतिफल देखिने गरी काम गरिएको समेत प्रष्ट्याए ।

मकवानपुरमा रहेको लोपोन्मुख वनकरियाको जीवनयाजन वनमा आधारित भएको र हाल उनिहरूले व्यवस्थापन र प्रयोग गर्दै आएको मसिने–शान्ति सामुदायिक वन मध्यवर्ती क्षेत्रमा परेपछि वैकल्पिकरूपमा आयआर्जनका लागि सुरु गरिएको वनकरिया–चेपाङ महिला साबुन उद्योगलाई उचाइमा पुर्याउँदा त्यहाँको समुदायको अवस्थामा देखिने सुधार आउने उनको भनाइ छ । त्यसैगरी हेटौँडामा रहेका र उत्पादन भइरहेका काष्ठ हस्तकला, गुन्द्रुक–मस्यौरा, दुना टपरीलगायत सबै उत्पादनका लागि बजारीकरण गर्न व्यावसायिक तालिमले सहयोग गर्ने उनले बताए ।

तालिममा सहभागी भएकी वनकरिया–चेपाङ महिला साबुन उद्योगकी सञ्चालक सन्तोषी वनकरियाले विगतको तालिमबाट साबुन कसरी बनाउने भन्नेबारे सिकेको भए पनि फाउण्डेसनको तालिमले योजना बनाएर बजारमा जान सहयोग गरेको बताए ।

त्यसैगरी विगत १० वर्षदेखि काष्ठ हस्तकला उद्योग सञ्चालन गर्दै आएकी हेटौँडा–५ की विष्णु राईले व्यावसायिक योजनाविना हालसम्म गरेको व्यवसायले चित्तबुझ्दो मुनाफा हुन नसकेको बताउँदै यस तालिमले आगामी बाटो प्रष्ट्याएको जनाए ।

तालिममा काष्ठ हस्तकला, गुन्द्रुक, दुना—टपरी र साबुन उत्पादन गरिरहेका महिलाहरूको सहभागिता रहेको थियो भने तालिमलाई  फाउण्डेशन नेपालका उद्यम विकास अधिकारी वासुदेव घिमिरेले सहजीकरण गरेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू