चितवन। ‘घुमौँ भरतपुर’ भन्ने नारासहित हुन लागेको भरतपुर भ्रमण वर्ष २०२४ को आज औपचारिकरुपमा उद्घाटन हुने भएकाे छ । नारायणी नदी किनारमा भव्य कार्यक्रमका साथ उद्घाटन हुने भ्रमण वर्ष २०२४ को उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल बिहीबार चितवन पुगेका छन् । कार्यक्रममा प्रधानमन्त्रीसहित पाँच पूर्व प्रधानमन्त्री सहभागी हुने भएका छन् । उद्घाटन दिउँसो १ बजे हुनेछ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्व मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी पनि आज चितवन जाने कार्यक्रम तय भएको छ । यसका लागि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने बिहीबार नै चितवन पुगिसकेका छन् ।
निमन्त्रणा गरिएको भएपनि पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइले भने सहभागी हुन नसक्ने भएका छन् । भ्रमण वर्ष सफल पार्न महानगर प्रमुख रेनु दाहालको संयोजकत्वमा २०२४ सदस्यीय मूल समारोह समिति तथा ७ सदस्यीय निर्देशन समिति गठन गरिएको छ । भ्रमण वर्षको उद्घाटन कार्यक्रममा करिब ५० हजार जना उपस्थित हुने महानगरको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्