भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिकाले डाग्बुङ (गुराँस) पदमार्ग निर्माण गरेको छ । प्राकृतिकरुपमा मनोरम क्षेत्रलाई समेटेर डाग्बुङ (गुराँस) पदमार्ग निर्माण गरिएको हो ।
यस क्षेत्रमा रहेको नेपालको राष्ट्रिय फूल लालिगुराँसको संरक्षणसँगै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यका साथ पदमार्ग निर्माण थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष पोखरेलले बताए । यसलाई मुख्य पर्यटन क्षेत्रको रुपमा स्थापित गराउने लक्ष्यका साथ निर्माण थालिएको उनको भनाइ छ । आन्तरिक तथा बाह्य पर्यटकको आवगमन बढाएर आर्थिक स्रोतको रुपमा जोड्न यहाँ पदमार्ग निर्माण गरिएको हो ।
“गुराँसको संरक्षणसँगै यो क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा स्थापित गराउने उद्देश्यले पदमार्ग निर्माण गरिरहेका छौँ”, प्रमुख प्रशासकीय अधिकृत पोखरेलले भने, “यो प्राकृतिकरुपमा निकै सुन्दर क्षेत्र रहेकाले यसको विकासमा हामीले जोड दिएका छौँ । यसलाई गाउँपालिकाको मुख्य पर्यटकीय गन्तव्य बनाउने हाम्रो लक्ष्य छ ।”
पदमार्ग निर्माणमा नेपाल जलवायु नमूना कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा रु ३४ लाख खर्च गरिएको गाउँपालिकाले जनाएको छ । यस वर्ष पनि सोही कार्यक्रमको रु २० लाख बजेटबाट काम निरन्तर भइरहेको छ । यहाँ पर्यटन मन्त्रालयबाट रु १५ लाख बजेट प्राप्त भएको गाउँपालिकाले जनाएको छ ।
रामप्रसादराई गाउँपालिका–१ ओख्रेमा निर्माण भइरहेको यो स्थानलाई आधार बनाएर आन्तरिक पर्यटन सर्किट निर्माण गर्ने लक्ष्यका साथ काम भइरहेको गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले बताए । हाल ओख्रे बजारबाट करिब ६ किलोमिटर पदमार्ग निर्माण भएको उहाँले बताउनुभयो । पदमार्ग वडा नं ४ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र चुलाचुलीसम्म जोड्ने योजना रहेको छ ।
“हामीले अहिले डाग्बुङ पदमार्ग निर्माण गरिरहेका छौँ”, अध्यक्ष राईले भने, “यो स्थान प्राकृतिक हिसाबले निकै राम्रो सम्भावना बोकेको क्षेत्र हो । गाउँपालिकाभित्रका सबै पर्यटकीय क्षेत्रलाई समेटेर आन्तरिक पर्यटन सर्किट निर्माण गर्ने योजनाका साथ काम गरिरहेका छौँ ।”
पर्यटकलाई लक्षित गरेर यहाँ करिब एक सय रोपनी क्षेत्रमा चिया खेती विस्तार थालिएको अध्यक्ष राईले बताए । यहाँ आउने पर्यटकलाई लक्षित गरेर घरबास (होमस्टे) निर्माण गरिने छ । आउने पर्यटकलाई लक्षित गरेर आवश्यक संरचना निर्माणको काम भइरहेको उनको भनाइ छ । यसलाई बृहत् मुन्दुम ट्रेलसँग जोड्ने लक्ष्य रहेको अध्यक्ष राईले बताए ।
“लालीगुँरासको संरक्षणसँगै यो क्षेत्रको बृहत्तर पर्यटन विकासमा जुटेका छौँ”, अध्यक्ष राईले भने, “हाम्रो पालिकामा धेरै ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र रहेका छन् । यी क्षेत्रलाई पर्यटनसँग जोडेर आर्थिक स्रोतको रुपमा विकास गर्ने योजना छ । यो डाग्बुङ पदमार्गलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने लक्ष्यका साथ काम गरिरहेका छौँ ।”
लाँलीगुराँससँगैै फाटिला पहाडका चौरहरुले पर्यटकको मन लोभ्याउने गरेको छ । यहाँ आउने पयर्टकले प्राकृतिक दृश्यको अवलोकन गर्दै आनन्द लिन सक्ने अध्यक्ष राईको भनाइ छ । यहाँबाट अग्ला हिमशृङ्लासँगै तराईका सुन्दर भू–भागको अवलोकन गर्न सकिन्छ । किरात भाषामा डाग्बुङ अर्थात् गुराँस भनेर यो पदमार्गको नामाकरण गरिएको हो । लालिगुराँस फुलेको समयमा यहाँ घुम्ने आउने पर्यटकको आवतजावत बढेको स्थानीयवासी गोविन्द भुजेलले बताए ।
यहाँबाट सगरमाथा, मकालु कञ्चनजङ्गलगायतका ठूला हिमशृङ्खलाको दृश्यवलोकन गर्न सकिने भुजेलको भनाइ छ । पदमार्ग निर्माणले यहाँ आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेकाले व्यापार व्यवसायसमेत बढ्दै गएको उहाँको भनाइ छ । डाग्बुङ पदमार्ग निर्माणले आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको छ । स्थानीय परिकारको स्वाद लिँदै प्राकृतिक मनोरञ्जन लिन यहाँ आउने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्