बागलुङ । नेपाल(चीन जोड्ने मुस्ताङको कोराला नाका पूर्णरूपमा सञ्चालनमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष माग गरिएको छ ।
अन्तरदेशीय व्यापार र पर्यटन प्रवर्द्धनका लागि सो उत्तरी नाका नियमित सञ्चालनका लागि पहल थाल्न सरकारको ध्यानाकर्षण गराइएको हो । आज बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा आयोजित ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’मा सहभागी प्रधानमन्त्री दाहालसमक्ष नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको विकास र समृद्धिका लागि कोराला नाका नियमित सञ्चालनमा ल्याउनुपर्ने बताए ।
उनले केही समयअघि भएको चीन भ्रमणका क्रममा कोरोलालगायत नेपालसँगका उत्तरी नाका सञ्चालनमा प्रधानमन्त्रीले लिनुभएको पहलप्रति आभार व्यक्त गर्दै कोराला नाका छिट्टै पूर्णरूपमा सञ्चालनमा आउनेमा विश्वास व्यक्त गरे । “कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग आयोजनालाई समयमै सम्पन्न गर्न सकिएमा कोराला नाकालाई सक्रिय र सहजरूपमा सञ्चालनमा ल्याउन सकिन्छ, यसतर्फ प्रधानमन्त्री र सरकारको विशेष ध्यान जानेछ भन्ने हाम्रो विश्वास छ”, अध्यक्ष ढकालले भने ।
पञ्चकोटबाट मुक्तिनाथ हुँदै कोरोला नाका जोड्ने सडक निर्माणलाई उच्च प्राथिमकता राख्न उनले प्रधानमन्त्रीसमक्ष आग्रह गरे । विश्वका सनातन अनुयायीहरूको आस्थाको केन्द्र मुक्तिनाथ रहेको भन्दै अध्यक्ष ढकालले त्यस क्षेत्रलाई सांस्कृतिक, प्राकृतिक एवं धार्मिक सम्पदास्थलका रूपमा विकास गर्नुपर्ने अध्यक्ष ढकालले बताए ।
पञ्चकोटमा निर्माण थालनी भएको विश्वशान्ति कलशको पूर्णताका लागि सरकारको सहयोगको अपेक्षा लिइएको उहाँको भनाइ छ । सर्वसिद्धिधाम पञ्चकोटका सङ्कल्पकर्ता स्वामी कमलनयनाचार्यले चीन जोड्ने कोरोला नाका सञ्चालन हुनसकेमा मुलुकको समृद्धिमा ठूलो टेवा पुग्ने उल्लेख गरे ।
“मुक्तिनाथ क्षेत्र हुँदै मानसरोकारको यात्रा गर्न सकिने अवस्था सिर्जना गर्न सकियो भने धार्मिक पर्यटनका माध्यमबाट देशले ठूलो लाभ लिन सक्छ, यसतर्फ प्रधानमन्त्रीज्यूमार्फत सरकारको ध्यान जाओस्”, उनले भने।
कोरोला नाका जोड्ने सडक सुविधासम्पन्न हुनसकेमा समग्र मुक्तिक्षेत्रको विकासले गति लिने स्वामी कमलनयनाचार्यले बताए । उनले जनस्तर र सरकारी क्षेत्रको साथ र सहयोगबाट पञ्चकोटले नयाँ स्वरुप पाएको बताए । उनले व्यवस्थित सडक, खानेपानी र पार्किङस्थलको व्यवस्थापनमा सरकारका निकायको सहयोग आवश्यक रहेको धारणा राखे ।
प्रधानमन्त्री दाहालले बागलुङ, म्याग्दी हुँदै मुस्ताङको कोराला नाका जोड्ने सडकको स्तरोन्नतिका लागि सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकता दिने प्रतिबद्धता जनाए । “प्रधानमन्त्रीका हैसियतले कोरोला नाकालाई नियमित सञ्चालन गर्ने र त्यहाँको सडक निर्माणमा मेरो ध्यान गएको छ, आगामी सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटमा पनि यो विषय प्राथमिकताका साथ समेटिन्छ”, उनले भने ।
प्रधानमन्त्री दाहालले मुलुकको आर्थिक समृद्धिका लागि धार्मिक पर्यटन महत्त्वपूर्ण आधार भएको बताए । उनले कोरोला नाका सञ्चालनमा आउँदा आर्थिक गतिविधिसँगै पर्यटन आवागमनमा पनि उल्लेख्य वृद्धि हुने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री दाहालले भौतिक विकासमा दौडिरहेको वर्तमान विश्वमा आध्यात्मिक चिन्तनको विकास गर्न नसके समाजमा स्थायी शान्ति प्राप्त नहुने धारणा राखे । उनले संस्कारसहितको व्यावहारिक शिक्षामा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्