काठमाडौँ– राष्ट्रियसभामा निर्वाचित १९ सदस्यले आज शपथ ग्रहण गर्दैछन् । संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल हिजो सकिएपछि नवनिर्वाचित १९ सदस्यले आज शपथ ग्रहण गर्न लागेका हुन् ।
शपथग्रहण नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बिहान साढे ११ बजे हुनेछ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल हिजो सकिएकाले उपाध्यक्ष उर्मिला अर्यालले निर्वाचित सदस्यको शपथग्रहण गराउने कार्यक्रम छ । गत माघ ११ गते सम्पन्न निर्वाचनबाट राष्ट्रियसभाका १९ सदस्य निर्वाचित भएका थिए । एक जना सदस्य राष्ट्रपतिबाट मनोनीत हुने छन् ।
राष्ट्रिय सभा सदस्यका लागि कोशीमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा एमालेका रुकामणि कोइराला विजयी भएका छन् । मधेस प्रदेशबाट गठबन्धनबाट नेपाली कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना र जनता समाजवादी पार्टी, नेपालकी पूजा चौधरी, बागमती प्रदेशबाट गठबन्धनबाट नेपाली कांग्रेसका विष्णुकुमारी पुडासैनी, नेपाली कांग्रेसकै जितजंग बस्नेत, नेकपा माओवादी केन्द्र का श्रीकृष्ण अधिकारी, नेकपा एकीकृत समाजवादी का घनश्याम रिजाल निर्वाचित छन् ।
त्यस्तै गण्डकी प्रदेशबाट सत्ता गठबन्धनकै नेपाली कांग्रेसका पदमबहादुर परियार, नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ, नेकपा माओवादी केन्द्र का मनरुपा शर्मा निर्वाचित भएका थिए । लुम्बिनी प्रदेशबाट गठबन्धनकै नेपाली कांग्रेसका विष्णुकुमारी सापकोटा र नेकपा ९माओवादी केन्द्र० का झक्कु सुवेदी निर्वाचित छन् । कर्णाली प्रदेशमा गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, नेकपा एकीकृत समाजवादी का सावित्री मल्ल, नेकपा माओवादी केन्द्र का विष्णुबहादुर विश्वकर्मा निर्वाचित छन् ।
सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका बलदेव बोहरा र नारायणदत्त भट्ट तथा नेकपा माओवादी केन्द्र का रेणु चन्द निर्वाचित भएका थिए । राष्ट्रिय सभामा १९ सिटका लागि मतदान भएको थियो। जसमा नेपाली कांग्रेस १० सिटमा विजयी हुँदा सत्ता गठबन्धनबाटै नेकपा माओवादी केन्द्र ५ सिट र नेकपा एकीकृत समाजवादी ले दुई सिट जितेका थिए । त्यस्तै जनता समाजवादी पार्टीले एक सिट र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले १ सिट जितेका थिए ।
प्रतिक्रिया दिनुहोस्