Ads

विद्युत महशुल बढ्ने त्रासमा उद्योगी


बिराटनगर\ सरकारले विद्युत महशुल बढाउन लागेको भन्दै पूर्वका उद्योगी व्यवसायी त्रसित बनेका छन् । उद्योग क्षेत्र समस्याग्रस्त भएर चलि रहेको अवस्थामा उद्योग संगठन मोरङले तत्काल विद्युत महशुल नबढाउन आग्रह गरेको छ । विद्युत नियमन आयोगले विद्युत महशुल वृद्धि गर्ने तयारी गरिरहेको भनि सार्वजनिक भएका समाचारहरुप्रति ध्यानाकर्षण भएको भन्दै संगठनले महशुल बढाउनुको साटो गुणस्तर सुधार गर्न र नियमित विद्युत आपूर्ति गर्ने तर्फ ध्यान दिन आग्रह गरेको हो ।

उद्योग संगठन मोरङले मंगलबार प्रेस नोट जारी गरी उद्योग व्यवसाय क्षेत्रले पछिल्ला वर्षहरुमा थुप्रै समस्या सामना गर्नु परिरहेको भन्दै वर्तमान समयमा नियमित गुणस्तरीय विद्युतको आवश्यकता रहेको जनाएको हो । औद्योगिक क्षेत्रले थुप्रै कठिनाइहरु सामना गर्नुपरिरहेको भन्दै उद्योग व्यवसाय क्षेत्र र सर्वसाधारणले अहिले उपभोग गरिरहेको महशुल तुलनात्मक अरु मुलुकको भन्दा महंगो भएको पनि जनाएको छ ।

नाफामा रहेको प्राधिकरणले फेरि पनि विद्युत महशुल वृद्धि गर्दा उपभोग्य वस्तुको मूल्य बढ्ने र त्यसको प्रत्यक्ष मारमा आम उपभोक्ता पर्ने भन्दै संगठनका अध्यक्ष राकेश सुरानाले मूल्यवृद्धिको निर्णय नलिन आग्रह गरेका हुन् ।

अध्यक्ष सुराना पूर्व सूचना विना उद्योग व्यवसायमा हुने पावर कटले श्रमिक व्यवस्थापनमा कठिनाइ भएको जनाए । उनले विद्युतको पुरानो संरचनाका कारण सानो झरी, बर्षा, हावामासमेत अत्यधिक पावर कट भई उत्पादन प्रकृया रोकिनाले जेनेरेटर संचालन गरेर उत्पादन गर्नुपर्दा लागत वृद्धि हुनुका साथै वस्तुको गुणस्तरमा ह्रँस आई स्वदेशी उद्योगहरुको प्रतिष्पर्धात्मक क्ष्ँमता नै घटिरहेकोमा पनि चिन्ता जनाएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू