Ads

महाशिवरात्रि पर्व : बेहडाबाबा मन्दिरमा दर्शनार्थीको घुइँचो


कैलाली । ऐतिहासिक महत्व बोकेको महाशिवरात्रिको अवसरमा धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा आज दर्शनार्थीहरूको घुइँचो लागेको छ ।

बेहडाबाबा मन्दिरमा पूजाआजा गर्नका लागि गए राति १२ बजेदेखि नै भक्तालुहरू आएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिए । कैलाली, कञ्चनपुरलगायत प्रदेशका विभिन्न जिल्लाका मानिस यहाँ दर्शनका लागि आएका छन् । यो मन्दिरको बेग्लै महत्व रहेको छ ।

त्यस्तै छिमेकी मुलुक भारतबाट समेत दर्शनार्थी यहाँ आउने गरेका छन् । उनीहरूमा यहाँ आएर मनोकाङ्क्षा पूरा हुन्छ भन्ने विश्वास रहिआएको छ । बेहडाबाबा मन्दिरको दर्शनले मनमा शान्ति एवं इच्छाएको कुरा पुग्ने हुँदा यहाँ प्रत्येक वर्ष भारतको लख्खीमपुर, पलिया, पिलीभित, युपी, उत्तराखण्डलगायतका विभिन्न क्षेत्रबाट भक्तजन आउने गरेका छन् । मन्दिर व्यवस्थापन समितिका अनुसार पाँचदेखि आठ लाख भक्तालुले पूजा गर्ने अनुमान गरिएको छ । मन्दिर परिसर नजिकै मेलाको पनि आयोजना गरिएको छ । मेलामा यहाँका नेपालीमात्रै नभएर भारतका व्यवसायीसमेत केही दिनअघिबाटै यहाँ आएर विभिन्न पसल सञ्चालन गरेका छन् ।

महाशिवरात्रिकै अवसर पारेर बेहडाबाबा मन्दिरमा हेलिकप्टरद्वारा पुष्प वर्षा र सवा दुई करोड बत्ती प्रज्ज्वलन गरिँदै छ । मन्दिर व्यवस्थापन समिति र बेहडाबाबा पुष्प वर्षा समारोह उपसमितिको आयोजनामा बिहान ११ देखि १२ बजेको समयमा हेलिकप्टरबाट पुष्प वर्षा गराइने र अपराह्न ४ बजे सवा दई करोड बत्ती प्रज्ज्वलन गरिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिए ।

हरेक वर्ष आयोजना गरिने महाशिवरात्रि मेलामा पहिलोपटक हेलिकप्टरबाट पुष्प वर्षा गरिन लागिएको उनले बताए । कैलालीको प्रसिद्ध धार्मिकस्थल मानिने बेहडाबाबालाई पर्यटकीय गन्तव्य बनाउन प्रचारप्रसार गर्न हेलिकप्टरबाट पुष्प वर्षा गराउन लागिएको आयोजकको भनाइ छ ।

पुष्प वर्षा कार्यक्रमका लागि नरेन्द्र शाहको संयोजकत्वमा रहेको टिमले रु १४ लाख नौ हजार नौ सय ५० सङ्कलन भएको   छ । पुष्प वर्षाका लागि हेलिकप्टर भाडाबापत रु ११ लाख र तीन क्विन्टल फूलको रु दुई लाख गरी जम्मा रु १३ लाख खर्च हुने अनुमान गरिएको आयोजकको भनाइ छ ।

पुष्प वर्षासँगै महाशिवरात्रिमा भक्तजनका लागि महाभण्डारासमेत चलाइएको छ भने उपस्थित सम्पूर्ण भक्तजनलाई निःशुल्क खाना र पानीको व्यवस्था गरिएको छ । त्यस्तै धाममा भक्तजनलाई जान आउनदेखि दर्शन तथा पूजापाठ गर्नसम्मका लागि सम्पूर्ण तयारी गरिएको छ । आवतजावतका लागि बसको व्यवस्था र कडा सुरक्षाकोे व्यवस्था गरिएको   छ ।

मङ्गलनाथ महोत्तरीका अर्का जलाधिनाथ

महोत्तरी– आमरूपमा ‘जलाधिनाथ’ भनिँदा महोत्तरीको जलेश्वर–१ स्थित श्री जलेश्वरनाथ भन्ने बुझिन्छ । तर महोत्तरीकै सुदूरपश्चिम दक्षिणी भेगको सोनमा–६ मगरथानास्थित श्री मङ्गलनाथ महादेवको शिवलिङ्ग पनि जलमै विराजमान छ । आज महाशिवरात्रि पर्वका अवसरमा श्री मङ्गलनाथ शिवलिङ्गको दर्शन र पूजाआराधना गर्नेको भीड छ ।

जलेश्वरनाथ भगवान् शङ्करले आफैँ स्थापना गरेको शिवपुराण र मिथिला माहात्म्यमा वर्णित छ । यसैगरी मङ्गलनाथ पनि अनादिकालमै स्थापित शिवलिङ्ग मानिन्छ । मङ्गलनाथ शिवलिङ्ग तपस्वी योगीजनले पाँच सय वर्षअघि पत्ता लगाएदेखि पूजाआराधना गरिँदै आइएको मगरथानावासी बताउँछन् ।

जमिनको सतहबाट करिव २० फिट गहिराइमा पानीले ढाकिएर रहेको मङ्गलनाथ शिवलिङ्गको आराधनाले समस्त कष्ट निवारण भई सुखसन्तोष प्राप्त हुने जनविश्वास छ । जिल्ला सदरमुकाम जलेश्वरबाट करिब ३५ किलोमिटर पश्चिम भारतीय सीमावर्ती मगरथाना गाउँअवस्थित मङ्गलनाथ शिवलिङ्ग जलेश्वरनाथकै झैँ स्थापित परम्पराका हुनुपर्ने मगरथानाका बासिन्दा अशेश्वरप्रसाद यादव बताउँछन् ।

“जलेश्वरनाथ र मङ्गलनाथ समान प्रकृतिका शिवलिङ्ग छन्, दुवै जलमा विराजमान ” यादव  भन्छन् “यो समानताले दुवै शिवलिङ्ग एकै कालमा स्थापित हुन् भन्ने अड्कल गर्न सकिन्छ ।” जलेश्वरधाम क्षेत्र जनकपुरधामसँग निकट रहेका हुँदा खोजीनीतिमा परेका र मङ्गलनाथ दूरदराजमा हुँदा खोज, अन्वेषण र अध्ययनको कम चासोमा परेका यादवको भनाइ छ ।

मङ्गलनाथ शिवलिङ्ग कहिल्यै नसुक्ने पानीमा ढाकिएको पाँच फिट मोटाइ र दुई फिट उचाइको देखिन्छ । मङ्गलनाथ शिवलिङ्ग परिसरमा केही लेखिएको जस्तो देखिने शिला छन् । यिनको पुरातात्विक अध्ययन हुनसके यसबारे थप तथ्य आउनसक्ने मगरथानाकै बासिन्दा शिक्षण पेसाका धर्वेन्द्रकुमार यादव बताउँछन् । यसबारे स्थानीय, प्रदेश र सङ्घीय सरकारले चासो नदिएका मगरथानावासीको गुनासो छ ।

जलाशयमा भेटिएपछि तपस्वीजनले पूजाआराधना गर्दै आएका शिवलिङ्ग परिसरमा पछि मन्दिर निर्माण भएको स्थानीय पाका व्यक्ति  बताउँछन्। मन्दिर परिसरमै हाल गणेश र पार्वतीको मन्दिर स्थानीय भक्तले निर्माण गरेका छन् । मन्दिर पसिरमै विशाल पिपलको रुख र पुरानो इनार   देखिन्छ । यसैगरी मन्दिरदेखि पूर्व शिवसागर तलाउ छ । यस तलाउमा स्नान गरी यहीँकै जल महादेव मङ्गलनाथलाई चढाइए भक्ति सफल हुने मन्दिरका पुजारी राजदेव गिरी बताउँछन् ।

यहाँ प्रत्येक वर्षको महाशिवरात्रि र साउन महिनाका सोमबारका दिन धार्मिक मेला लाग्दै आएको छ । यस ठाउँको थप अध्ययन र पुरातात्विक अन्वेषणका लागि प्रदेश र सङ्घीय सरकारसँग अनुरोध गरिएको सोनमा गाउँपालिकाका अध्यक्ष विशेश्वर यादवको भनाइ छ ।

डोलेश्वरबाट आशापुरीसम्म दर्शनार्थीको घुइँचो

भक्तपुर– महाशिवरात्रि पर्वको अवसरमा आज भक्तपुरका प्रसिद्ध शिवालय केदारनाथको शिर डोलेश्वर, आशापुरीबाट साँगाको अग्लो कैलाशनाथ महादेवसम्ममा दर्शनार्थीको भीड लागेको छ ।

सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा आज शिवरात्रिका दिन मन्दिरको चारैवटा ढोका खुला गरिएको छ । डोलेश्वर महादेव मन्दिरमा आज दर्शनार्थीको बिहान ४ बजेदेखि नै भीड लागेको र दर्शनार्थीले चारैवटा ढोकाबाट प्रवेश गरेर मन्दिरभित्र प्रवेश गरेर आफैँले पूजा गर्ने व्यवस्था गरिएको मन्दिर विकास तथा संरक्षण समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिए ।

मध्यराति मन्दिरमा विशेष पूजा सम्पन्न गरेपछि बिहान ४ बजेदेखि दर्शनार्थीको आगमन भएको जानकारी दिँदै उहाँले बिहानैदेखि लामबद्ध भक्तजनका लागि सहज पूजा एवं दर्शन गर्ने व्यवस्था गरिएको बताए । अरु दिन  मन्दिरभित्र प्रवेश गर्न नपाइने भएपनि आजको दिन भने दर्शनार्थीले मन्दिर भित्र प्रवेश गरेर डोलेश्वरमा आफैँले पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाईएको बताउदै उनले राती ७ बजेसम्म मन्दिरमा ५० हजारभन्दा बढी दर्शनार्थीको आगमन हुने अपेक्षा गरिएको उहाँले जानकारी दिए ।

आज रातभर जाग्राम बस्ने र धुनी जगाउने व्यवस्था गरिएको छ । नागा बाबासहित ३०० भन्दा बढी साधुसन्तलाई खाने, बस्ने, धुनी जगाउने व्यवस्था गरिएको जानकारी दिँदै मन्दिरमा लाईन बसेको आधाघण्टा भित्र दर्शन गरिसक्ने गरी व्यवस्था मिलाइएको बताए । मन्दिरमा आउने भक्तजनलाई निःशुल्क भोजन तथा प्रसादीको व्यवस्था गरिएको छ । दर्शनार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै भक्तपुर अस्पताल र सूर्यविनायक नगर अस्पतालले बिहानैदेखि स्वास्थ्य शिविरको व्यवस्था गरेको छ ।

यता सिपाडोलकै प्रसिद्ध आशापुरी महादेव मन्दिरमा पनि दर्शनार्थीको भीड लागेको छ । मनले चिताएको आशा पूरा गर्ने जनविश्वास रहेको आशापुरी महादेवमा मन्दिरमा दर्शनार्थीको भीड लागेको हो । त्यस्तै सूर्यविनायक–१ सिरुटारस्थित गुप्तेश्वर महादेव, सोमलिङ्ेश्वर महादेव, चरखण्डीश्वर महादेव, वडा नं. ५ स्थित अनन्तलिङ्ेश्वर महादेव, सुवर्णेश्वर महादेव, वडा नं. १० चित्तपोल साँगास्थित अग्लो महादेवको रुपमा परिचित कैलाशनाथ महादेव, चित्तपोलकै लटरम्बेश्वर महादेव, भक्तपुरको दत्तात्रय मन्दिर, यातु महादेव मन्दिरमा पनि विहानैदेखि दर्शनार्थीको भीड लागेको छ । दर्शनार्थीलाई सहज दर्शन गर्ने व्यबस्था गरिएको जनाइएको छ ।

पर्वतको गुप्तेश्वर र अलपेश्वर गुफामा भक्तनको घुइँचो

पर्वत– हिन्दूहरूको महान् पर्व महाशिवरात्रिको अवसरमा पर्वतका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

प्रसिद्ध पर्यटकीय तथा धार्मिकस्थल गुप्तेश्वर गुफा र अलपेश्वर गुफालगायत जिल्लाका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको हो ।  सदरमुकाम कुश्माबजारसँगै रहेको गुप्तेश्वर गुफाको दर्शन र गुफाभित्र रहेको शिवलिङ्गको पूजा गर्न बिहानैदेखि भक्तजनको भीड लागेको हो । गुफामा दर्शन र पूजा गर्नका लागि पर्वतका गाउँगाउँबाट सर्वसाधरण आएका छन् भने छिमेकी जिल्ला बागलुङ, कास्की र म्याग्दीबाट समेत ठूलो सङ्ख्यामा भक्तजन आएका छन् । गुफामा दर्शन गर्ने र भजनमा नाचगान गर्ने पनि प्रशस्त छन् ।

गुप्तेश्वर गुफामा पार्वतीले महादेवलाई पतिको रूपमा पाऊँ भनी व्रत बसेको र भगवान् शिव गुप्त रहेको धार्मिक विश्वास रहिआएको छ । पार्वती पर्वतकै पाङ्गमा जन्मेकी र गुफामा व्रत बस्ने तथा कालीगण्डकीमा स्नान गर्ने गरेको भनाइ पाइन्छ । एक किलोमिटर लामो गुफामा देवीदेवताका दर्जनौँ आकृति छन् ।

यसैगरी कुस्मा नजिकै वडा नं ९ कटुवाचौपारीमा रहेको अलपेश्वर गुफामा पनि दर्शनार्थीको भीड लागेको छ । शिवरात्रिको अवसरमा यहाँ विशेष मेलाको आयोजना गरिएको छ । पर्वत, कास्की र स्याङ्जाको सिमानामा पर्ने पञ्चासे, डहरे, दक्षिण पर्वतको सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिला, महाशिलामा रहेको एसियाकै ठूलो दाबी गरिएको महाशिला क्षेत्र, ठूलीपोखरीमा रहेको बाटुलेचौरलगायतका शिवालय मन्दिरमा भक्तजनको बिहानैदेखि मेला लागेको छ । पछिल्लो समय भेटिएको पाङ्गको पार्वती गुफा, देउपुरको शिवालय गुफा र चुवाको लालेश्वर गुफामा पनि मेला लागेको स्थानीयले जानकारी दिएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू