Ads

अस्थिर ‘प्रचण्ड’ प्रवृत्तिलाई स्थिर बनाउन नयाँ गठबन्धन: बादल


काठमाडाैँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले मुलुकको स्थिरताको लागि अहिलेको गठबन्धन बनेको बताएका छन् ।

उनले अस्थिर पुष्पकलम दाहाल ‘प्रचण्ड’ प्रवृत्तिलाई स्थिर बनाउन नेकपा एमालेले कोशिश गरी नयाँ मोर्चा बनाएको दाबी गरे ।

प्रेस चौतारी नेपाल, गुल्मीले शुक्रवार तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै थापाले प्रधानमन्त्रीको अस्थिर प्रवृत्ति स्थापित भइसकेकाले श्रमजीवी वर्गको सबैभन्दा ठूलो पार्टी एमालेले प्रचण्ड प्रवृत्ति सच्याउँदै अहिलेको गठबन्धन अगाडि बढाएको स्पष्ट पारे ।

‘देशलाई आर्थिक संकटबाट मुक्त गराउने, सामाजिक अराजकता हटाउने र देशलाई समृद्धितर्फ उन्मुख गराउने दायित्व अब एमालेले पूरा गर्छ’, पूर्व गृहमन्त्रीसमेत रहेका थापाले भने ।

श्रमजीवी कम्युनिस्ट र पूँजीपति कांग्रेसबीचको शक्ति र सत्ताको लडाइँमा अस्थिर कम्युनिस्ट शक्तिलाई हातमा लिन कांग्रेसले अनेक जालझेल गरिएको बताए ।

थापाले अहिलेको सरकारलाई चुनौती र काम गर्ने अवसर दुवै भएकाले साझा न्यूनतम् कार्यक्रममार्फत देशमा देखिएका संकटहरूको समाधान गर्दै लैजाने बताए ।

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेशको अधिवेशन उद्घाटनको क्रममा गुल्मी आएका थापाले विगतको अवस्थाको आधारमा सरकार नफुट्ला भन्न पनि नसकिने बताए ।

आफूहरूले गठबन्धन फुटालेपछि अरूले नफुटाउलान् भन्न सक्ने अवस्था नभएकाले मोर्चा सुदृढीकरण गर्दै लैजाने स्पष्ट पारे । आफूहरू जिल्ला अधिवेशन र उपनिर्वाचनमा केन्द्रित भएको समेत उनले बताए ।

Ads

सम्बन्धित पोष्टहरू