Ads

रञ्जितालाई सम्बोधन गर्दै रेशमले भने- मैले तिमीलाई सम्झाउन सकिनँ प्रिय


काठमाडाैँ । गठबन्धन फेरबदल भएसँगै नागरिक उन्मुक्तिको घरझगडा सतहमा आएको छ । यो विषय यहाँसम्म लम्बिएको छ कि पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र नेता रेशम चौधरीले सरकारलाई समर्थन दिन र नदिन फरक-फरक निर्णय र निर्देशन नै जारी गरेका छन् ।

यसै सन्दर्भमा रेशमले यो घरझगडाको विषय नभएर राजनीतिक विषय भएको टिप्पणी गरेका छन् । सरकार निर्माणका लागि बन्ने जुनसुकै गठबन्धनका पछि लाग्न नहुने आफ्नो मत रहेको उनको भनाइ छ ।

‘सरकार निर्माणका लागि बन्ने जुनसुकै गठबन्धन भनेको साना दललाई सिध्याउने नै हो । त्यसैले हामी कसैका पछाडि नलागौँ, आफ्नो पार्टी निर्माणमा जुटौँ,’ रेशमले फेसबुकमा लेखेका छन्, ‘घर झगडा हुँदै होइन, विषय राजनैतिक हो । मैले जानेको बुझेको यही हो । जुनसुकै गठबन्धनका पछि लाग्नु भनेको पार्टी डुबाउनु हो ।’

यो विषयमा आफूले रञ्जितालाई दुई घण्टा सम्झाउँदा पनि सफल नभएको गुनासो रेशमले गरेका छन् । ‘कुरो रह्यो बुढाबुढीको । म उनलाई सम्झाउन कैलालीबाट काठमाडौं आएकै हुँ । दुई घन्टा वार्ता गरेकै हुँ, उनी टस कि मस भैइनन्,’ रेशमले फेसबुकमा लेखेका छन् ।

जवाफमा रञ्जिताले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना पार्टीका राजबन्दी रिहाइ गरेकाले उनको साथ छाड्न नहुने भनेको पनि रेशमले जनाएका छन् । ‘अरे लाटी, टीकापुर घटनापछि पनि प्रचण्ड दुइचोटी प्रधानमन्त्री भएकै थिए, हाम्रो मुद्दामा उनको सहानुभूति जरुर थियो तर हामी रिहा भएनौँ नि । अहिले पनि कसैको कृपाले राजबन्दी रिहाई गरेका होइनन्, दुई लाख अठहत्तर हजार जनताको भोटले हामी रिहाई भएका हौँ र तिमी पनि मन्त्री भएकि हौ ।’

आफूहरूका कारण पार्टी डुब्ने भयो भन्ने गरेकोमा आफूलाई चिन्ता लागेको रेशमले उल्लेख गरेका छन् । ‘मैले तिमिलाई सम्झाउन सकिनँ प्रिय र आफूले जन्माएको बच्चाको घाँटी निमोठेर हत्या गर्न पनि सक्दैन । आज लोग्ने-स्वास्नीका कारण पार्टी डुब्ने भो भन्छन् । मलाई चिन्ता यसैमा छ, तिम्रो र मेरा कारण जनताको मन दुख्नु हुन्न,’ उनले लेखेका छन्, ‘आज जतिले मन दुखाएका छन् ती हामीलाई हृदयदेखि चाहनेवाला हुन् । मलाई भोट हाल्, मलाई भोट हाल भन्नेहरू हामीलाई डुबाउने वाला मात्रै हुन् । मेरो कुरा मान्ने हो भने कसैलाई भोट नहालौँ टण्टै साफ ।’
यस्तो छ रेशमको प्रतिक्रिया

विषय जित हारको होइन,
आज जिते प्रचण्ड,ओली जित्लान् । भोलि फेरि देउवा जित्लान् ।
सरकार निर्माणका लागि बन्ने जुनसुकै गठबन्धन भनेको साना दललाई सिध्याउने नै हो । त्यसैले हामी कसैका पछाडि नलागौँ,आफ्नो पार्टी निर्माणमा जुटौँ ।

सन्दर्भ : घर झगडा हुँदै होइन, विषय राजनैतिक हो । मैले जानेको बुझेको यही हो । जुनसुकै गठबन्धनका पछि लाग्नु भनेको पार्टी डुबाउनु हो ।

आज पनि हेर्नुस् , एमाले,माओवादी, कांग्रेस । यी ठुला दलका नेता, कार्यकर्ता सांसद कतै चलमलाएका छन् र ? तर एकीकृत समाजवादी, जसपा, नाउपा, लोसपा, रास्वपा, राप्रपाजस्ता साना दलमा कत्रो भुँइचालो गएको छ ?

त्यसैले कुरा बुझौं, कुनै पनि गठबन्धनका पछाडि नलागौँ ।

नागरिक उन्मुक्ति पार्टी कांग्रेस-कम्युनिस्ट होइन, भौगोलिक सांस्कृतिक पहिचान सहितको संघीयताका लागि समुदायमा आधारित समाजवाद, प्रत्युत्पादनका लागि जन्मेको पार्टी हो । त्यसैले एक अर्कोमा हिलो छ्यापाछ्याप नगरौँ । आफ्नो नीति सिद्धान्त अनुरूप चलौँ ।

कुरो रह्यो बुढाबुढीको । म उनलाई सम्झाउन कैलालीबाट काठमाडौं आएकै हुँ । दुई घन्टा वार्ता गरेकै हुँ, उनी टस कि मस भैइनन् । उनको भनाइ छ – प्रचण्डले हाम्रो राजबन्दी रिहाइ गरे, हामीले उनको साथ छोड्नुहुन्न ।

अरे लाटी, टिकापुर घटनापछि पनि प्रचण्ड दुइचोटी प्रधानमन्त्री भएकै थिए, हाम्रो मुद्दामा उनको सहानुभूति जरुर थियो तर हामी रिहा भएनौँ नि ! अहिले पनि कसैको कृपाले राजबन्दी रिहाइ गरेका होइनन् ,दुई लाख अठहत्तर हजार जनताको भोटले हामी रिहाइ भएका हौँ र तिमी पनि मन्त्री भएकी हौं । नागरिक उन्मुक्ति पार्टीले पाउने एक मन्त्रालयबाट हामीले केही उखेल्नेवाला छैनौँ । जताबाट पनि भलो ठुलै दलको हुने हो, हामी एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुनु भनेको सिद्धिनु हो ।

मैले तिमिलाई सम्झाउन सकिनँ प्रिय र आफूले जन्माएको बच्चाको घाँटी निमोठेर हत्या गर्न पनि सक्दैनँ । आज लोग्ने स्वास्नीका कारण पार्टी डुब्ने भो भन्छन् । मलाई चिन्ता यसैमा छ, तिम्रो र मेरा कारण जनताको मन दुख्नु हुन्न । आज जतिले मन दुखाएका छन् ती हामीलाई हृदयदेखि चाहनेवाला हुन् । मलाई भोट हाल्, मलाई भोट हाल भन्नेहरू हामीलाई डुबाउने वाला मात्रै हुन् । मेरो कुरा मान्ने हो भने कसैलाई भोट नहालौँ टण्टै साफ ।

हो, जेलमा मैले लेखेको विधानले आज पार्टी चलेको छ । तर, मैले सबैको सदुपयोगीका लागि विधान लेखेको हुँ, दुरुपयोगका लागि होइन । अहिले विधानको कारण देखाएर निर्वाचन आयोगले जुन निर्णय गरेको छ त्यो अत्यन्त दुर्भाग्यपूर्ण छ । सबै कानुन जान्नेलाई थाहा छ, महाधिवेशन विधानभन्दा माथि हुन्छ । सत्ताको सदुपयोग या दुरुपयोग क्षणिक हो तर जनता जनार्दन हुन् । यसका बारेमा अदालतले केही दिनमा अवस्य न्याय देला ।

तर याद रहोस्,केन्द्रीय कमिटीको निर्णय नमान्नेलाई कार्वाही गर्नुपर्छ र कार्वाही भोग्नुपर्छ । सबैलाई लागेको होला, केन्द्रीय समितिको निर्णय मैले गराएको हुँ । यो सोच्दै हुनुहुन्छ भने तपाई भ्रममा हुनुहुन्छ । उहिले भन्न सक्दिनँ अहिले केन्द्रीय समितिले स्वतन्त्र भै निर्णय गरेको हो । अब हरेक निर्णय यसरी नै स्वतन्त्र भै गर्नुपर्छ ।

मेरा कारण लाखौं जनताको मन दुखेको मलाई अनुभुत भएको छ,त्यसकारण म क्षमा चाहन्छुँ तर पहिचानको आन्दोलनको सिपाही हुँ । कहिल्यै हार मान्नेवाला छैन । म अब आफ्नो घरपरिवारको भन्दा जनताको मान्छे हुँ । रन्जितालाई सम्झाउन नसक्नु मेरो विवसता हो, हार होइन ।
मान्नैपर्छ, दु:ख दैबले मेरो थाप्लोमा थुपारेरै पठाएको हो ।

Ads

सम्बन्धित पोष्टहरू