काठमाडौँ । नेपाल र कतारबीच द्विपक्षीय श्रम सम्झौता नवीकरण गर्ने सहमति भएको छ । कतार भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र कतारका श्रममन्त्री डा अल वीन समिख अल मारीबीच भएको भेटवार्तामा सो सहमति भएको हो ।
मन्त्री श्रेष्ठले नेपाल र कतारबीचको श्रम सम्झौता नवीकरणका लागि नेपाल सरकारले पठाएको मस्यौदाबारे समकक्षीलाई जानकारी गराएका थिए । सो क्रममा कार्यदलस्तरमा छलफल गरी मस्यौदालाई छिट्टै अन्तिम रुप दिने र नेपालमा हस्ताक्षर समारोह आयोजना गर्ने सहमति भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । श्रम आप्रवासनलाई व्यवस्थित र सुरक्षित गर्न नेपाल र कतारबीच सन् २००५ मा श्रम सम्झौता भएको थियो ।
गत मङ्सिरमा काठमाडौँमा भएको नेपाल–कतार संयुक्त समितिको चौथो बैठकमा भएका निर्णय कार्यान्वयनबारे पनि सो अवसरमा छलफल भएको थियो । नेपाल–कतार संयुक्त समितिको चौथो बैठकमा श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको थियो ।
कतारमा काम गरेर फर्केका नेपालीहरुको आर्थिक सामाजिक पुनः एकीकरणमा सघाउन नेपालले प्रस्ताव गरेको छ । नेपालबाट लैजाने श्रमिकको दक्षता वृद्धिका लागि कतार सरकारले नेपालका सातवटै प्रदेशमा तालिम केन्द्र स्थापना गर्न सहयोग गर्ने जनाएको थियो । -रासस
प्रतिक्रिया दिनुहोस्