Ads

१५ मिनेटका लागि स्थगित बैठक अझै सुरु भएन


काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल कांग्रेसको अवरोधपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि स्थगित गरेको प्रतिनिधिसभाको बैठक अझै सुरु हुन सकेको छैन ।

बैठक स्थगित गरिएको डेढ घण्टा भइसकेको छ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बैठकमा ‘राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्न लाग्दा कांग्रेस सांसदले उठेर अवरोध गरेका थिए ।

सभामुखले बसेर बैठक अघि बढाउन सहयोग गर्न पटकपटक आग्रह गरे पनि कांग्रेस सांसद उठिरहेपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

त्यसअघि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले विरोध चलिरहँदा सदन अघि बढाउन खोजिए वेल घेर्न बाध्य हुनुपर्ने भन्दै चेतावनी दिएका थिए ।

अहिले बैठक सञ्चालनका लागि सहमति जुटाउन सभामुख घिमिरेले प्रयास गरिरहेका छन् । सभामुखको चेम्बरमा प्रमुख दलका प्रमुख सचेतकहरूको बैठक चलिरहेको छ ।

तर, छलफलमा अहिलेसम्म कुनै निकास निस्किएको छैन । छलफलमा कांग्रेस, एमाले, माओवादी, रास्वपा, राप्रपा र जसपाका प्रमुख सचेतक सहभागी छन् ।

Ads

सम्बन्धित पोष्टहरू