कञ्चनपुर । कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१० झलारीका वीरेन्द्र चौधरीले मजदुरी गरेर नै जीविका चलाउदै आएका छन् । तीन वर्षदेखि उनले झलारी बजारमा सिमेन्ट, सरिया लोड अनलोडको काम गर्दै आएका छन । लोड अनलोडको काम गरेबापत आउने रकमले घर खर्च चल्दै आएको उहाँले बताए ।
दैनिक व्यापारीले ट्रकमार्फत ल्याउने सिमेन्ट झार्ने राख्ने काम गर्दै आएका छौँ‘, उनले भने ,‘यस काममा दश जना संलग्न छौँ ।‘ संलग्न दश जना सबै पूर्वमुक्तकमैया परिवारका हुन् । आर्थिकरुपमा विपन्न भएकै कारण जीविका चलाउनका लागि युवाले सो काम गर्दै आएका हुन ।
‘कुन गाडीमा कति सिमेन्ट आउँछ त्यहीअनुसार कमाइ हुन्छ‘, जितराम चौधरीले भन्नुभयो,‘औसतमा एक जनाले दैनिक रु. एक हजारदेखि रु एक हजार ५०० सम्म कमाइ गर्दै आएका छौँ । सामान नआएका बेला कमाइ हुँदैन ।‘ ढुवानीका साधनमा सिमेन्ट राख्दा प्रतिबोरा रु. १० पाउने गरेका छन् । झार्दा भने प्रतिबोरा रु आठ मात्रै पाउने गरेका छन् ।
सिमेन्ट सरिया राख्ने झार्ने काम गर्नु निकै जोखिमपूर्ण भएकाले श्रमको मूल्य बढाउन माग गर्दै आए पनि व्यापारीले नबढाउँदा थोरै रकममा काम गर्नुपरेको उहाँहरुको भनाइ रहेको छ । ‘सिमेन्ट लोड अनलोड गर्दा धुलो पूरै नाक, आँखा र मुखभित्र पस्ने गरेको छ । शरीर पूरै धुलोका कारण ढाकिने गरेको छ । यस्तो जोखिम हुँदाहँदै पनि परिवार पाल्ने अर्को माध्यम नहुँदा यस कामलाइ निरन्तरता दिँदै आएका छौँ‘,सन्तोष रानाले भने , ‘यस काम गरेबापत पाइने पारिश्रमिकले परिवाका लागि आवश्यक पर्ने नुन, तेल, चामल, तरकारी, लत्ताकपडासहित घरको सबै खर्च बेहोर्नुपर्ने हुन्छ । बालबालिकाको विद्यालयको खर्चसमेत यसबाटै चल्ने गरेको छ ।‘
जोखिमको कार्य भए पनि व्यापारीले सुरक्षाका साधन उपलब्ध नगराएको उनीहरुको गुनासो छ । उहाँले भन्नुभयो, ‘आफ्नातर्फबाट मुख छोप्ने, मास्क लगाउने गरे पनि सिमेन्ट मुखभित्र पस्छ । त्यसबाट खोकीलगायत श्वासप्र्रश्वासको समस्या बेला बखत देखिने गरेको छ । पारिश्रमिकका रुपमा पाइने थोरै कामले सुरक्षाका साधन खरिद गरेर ल्याउने क्षमता पनि छैन‘, उहाँले भन्नुभयो । थारै पाइने रकमले पौष्टिक खानेकुराको जोहो मिलाउन नसक्दा धेरैले यस काम छाड्दै जान थालेको उहाँहरुको बताएका छन । सरिया सिमेन्ट लोड अनलोडको कार्य पहिला भारतीय मजदुरले मात्रै गर्दै आएका थिए ।
त्यस कामलाई यहाँका युवाले अपनाउन थालेपछि भारतीय मजदुर विस्थापित भएकाछन । यस काममा संलग्न युवा भन्छन्, ‘निकै जोखिमको काम छ । मजदुरको सरकारले बीमा गर्ने व्यवस्था गरिदिए यस कामलाई निरन्तरता दिन सकिन्छ ।‘ झलारीका सो काम गर्दै आएका युवाले आफैँले कोष स्थापना गरी आपत्विपत् परेका बेला रकम परिचालन गर्दै आएका छन् । कोषमा रु. एक लाख जम्मा गरेका छौँ । बिरामी परे, चोटपटक लागे, घरमा अन्य आकस्मिक काम गर्नुपरे कोषबाट निश्चित समयका लागि न्यूनतम ब्याजमा रकम उपलब्ध गराइने गरिएको छ । सो काम गर्दा बाँड्नबाट बचेको रकम युवाले कोषमा राख्ने गरेका छन ।
प्रतिक्रिया दिनुहोस्