काठमाडौ । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच तालमेल हुने वा नहुने कुरा नेपाली कांग्रेसमा निर्भर रहेको बताए ।
पार्टीको मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोद्धन गर्न आज जनकपुर गएका अध्यक्ष प्रचण्डले सञ्चारकर्मीसँग कुराकानी गर्दै सो कुरा बताए ।
‘अहिलेसम्म पाँच दलीय गठबन्धनभित्र कुनै प्रकारको तिक्तता छैन्‘, उनले भने , ‘आसन्न निर्वाचनमा पनि तालमेल गरेर जानुपर्ने कुरा भइरहेको छ, तर तालमेल हुने वा नहुने कुरा नेपाली कांग्रेसको हातमा छ ।‘ अध्यक्ष दाहालले हामीले गठबन्धलाई निरन्तररुपमा अघि बढाउनुपर्ने पक्षमा छौँ तर कांग्रेसभित्र तालमेलको बिषयलाई लिएर फरक फरक कुरा आइरहेकाले आगामी यात्रा कसरी अघि बढ्छ, त्यो कांग्रेसकै भूमिकामा निर्भर हुने बताए ।
स्थानीय तहको निर्वाचनमा कांग्रेस तालमेल गर्न तयार भए आफूहरु पनि तयार छौँ, तर कांग्रेसले गर्न चाहेन भन्ने हामी पनि आफ्नै तरिकाले चुनाबमा जान्छौँ‘, उनले भने , ‘त्यसैले कसरी जाने भन्ने कुरा कांग्रेसकै हातमा छ । हामी आफ्नै खुट्टामा उभिएर चुनाबी परिणाम ल्याउने गरी तयारी गरिरहेको उनको भनाइ छ ।
अध्यक्ष दाहालले पाँच दलीय गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि सामेल गराउने बिषयमा गठबन्धनभित्र कुनै छलफल नभएको तर प्रधानमन्त्री र लोसपाका नेताबीच छलफल भइरहेको जानकारी दिदैं सत्तासाझेदार दलबीच मन्त्री हेरफेरबारे छलफल भइरहेको बताए ।
मन्त्रिपरिषद्मा हेरफेरको कुरा चलेको छ, तर अहिलेसम्म औपचारिक रुपमा टुंगिएको छैन, उनले भने, केही मन्त्रालय हेरफेर हुने सम्भावना छ, केही नयाँ आउने सम्भावना छ ।‘ अध्यक्ष दाहालले अब बस्ने प्रतिनिधिसभाको बैठकमा नागरिकता विद्येयक र रेलसम्बन्धी विद्येयक प्रस्तुत हुने बताउँदै त्यही बैठकबाट दुवै विधेयक पारित गरिने पनि जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्