Ads

स्थानीय तहको निर्वाचन माओवादीका लागि जीवनमरणको विषय हो : प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको चुनाव माओवादी केन्द्रको लागि जीवनमरणको विषय भएको बताएका छन् । मंगलबार जनकपुरधामको तिरहुतिया बरगाछिमा भएको प्रशिक्षण कार्यक्रममा उनले माओवादी हार्दा देश हार्ने दाबी पनि गरे ।

उनले गठबन्धनको आशा गरेर रिल्याक्स नगर्न पनि नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले भने, ‘गठबन्धनको आश गरेर रिल्याकस नगर्नुस् । आफ्नो खुट्टा बलियो बनाउनुस ।’

देशमा राजनीतिक परिवर्तन आउनु अघि काठमाडौंका शासकले मधेसका जनतालाई जहिले पनि दोस्रो दर्जाका नागरिकको रुपमा हेर्ने गरेको पनि बताएका छन् । अध्यक्ष प्रचण्डले भने, ‘काठमाडौंका शासकले मधेसका जनतालाई जहिले पनि दोस्रो दर्जाका नागरिकको रुपमा हेर्ने गरेको थियो । जनयुद्ध र जनआन्दोलनबाट त्यस्ता विभेदको रेखा कोर्ने राजा–महाराजालाई परास्त गरिएको छ ।’

प्रतिगमनविरुद्धको संघर्षमा मधेसले फेरि पनि अगुवा भूमिका खेलेको भन्दै उनले प्रशंसासमेत गरे । ‘तपाईहरुले प्रतिगमनका विरुद्ध जिल्ला सदरमुकाम र गाउँगाउँमा गरेका पहलकदमीमात्र होइन, मधेसबाट काठमाडौंका सडकमा गएर देशभरि सन्देश दिने भूमिका निर्वाह गरेकोमा तपाईहरु सबै धन्यवादका पात्र हुनुहुन्छ ।’

नेकपा माओवादी केन्द्र रुपान्तरण र क्रान्तिकारी विचार विकासको चरणमा प्रवेश गरेको उनले बताए ।

तराई मधेस रणनैतिक, भौगोलिक उपस्थितिको हिसाबले पनि धेरै महत्वपूर्ण रहेको भन्दै उनले नेपालको राष्ट्रिय एकता र राष्ट्रिय स्वाधिनता, नेपालको भौगोलिक अखण्डताको रक्षामा पनि पहरेदार भएर उभिएको प्रचण्डले बताए ।

 

 

Ads

सम्बन्धित पोष्टहरू