उर्लाबारी । पूर्वपश्चिम राजमार्गको काकडभिट्टा–लौकही खण्ड चार लेनमा विस्तारको काम सुरु हुन नपाउँदै आयोजना सञ्चालनमा झमेला आइपरेको छ । सडक विस्तारका गर्दा काटिने रुख र काठपातको स्वामित्व सरकारको हुने वा समुदायको भन्ने विषयमा झमेला परेको हो । वन पैदावरको स्वामित्वमा विवाद भएपछि चार लेन सडक विस्तार आयोजना प्रभावित हुने देखिएको छ ।
यस सडक खण्ड विस्तार गर्न बुधबार कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेतीले रुख कटान गर्ने कामको उद्घाटन गरेका थिए । मन्त्री उप्रेतीले सडक किनार र विस्तारित क्षेत्रमा पर्ने रुख कटान गर्ने कार्य सुरुवात गरेको २४ घण्टा नबित्दै सामुदायिक वन उपभोक्ता महासंघ कोशी प्रदेशका प्रतिनिधि मण्डलले बिहीबार मन्त्रालयका सचिवसहित सरकारी अधिकारीहरुसँग भेटेर यथास्थितिमा रुख काट्न नदिने भन्दै आन्दोलनको चेतावनीसमेत दिए ।
उनीहरुले सडक विस्तारका क्रममा समुदायले संरक्षण गर्दै आएको हस्तान्तरित वन क्षेत्रबाट निस्किने काठ दाउराको स्वामित्व सम्बन्धित समुदायकै हुनुपर्ने अन्यथा सामुदायिक वन क्षेत्रबाट एउटा पनि रुख निकाल्न नदिने चेतावनी दिएका हुन् ।
वन ऐनको दफा १०३ को उपदफा ३ मा समुदायले संरक्षण गरेको वन क्षेत्रमा आयोजना सञ्चालन गर्दा त्यहाँबाट उत्पादन हुने वन पैदावर सम्बन्धित सामुदायिक वनकै हुने व्यवस्था भएको भन्दै उनीहरुले राजमार्ग विस्तार गर्दा सामुदायिक वन क्षेत्रबाट निस्किने काठ दाउराको व्यवस्थापन सामुदायिक वनले नै गर्न पाउनु पर्ने जिकिर गरेका थिए ।
समुदायले दिनरात केही नभनी वनको सुरक्षा, संवद्र्धन र विकास गरेको भन्दै सडक आयोजना विस्तारको नाममा समुदायलाई हस्तान्तरण गरेको र वार्षिक कार्ययोजनामा उल्लेख भएको क्षेत्रभित्र बढेका रुखहरु नेपाल सरकारलाई दिन नसकिने उनीहरुको दावी थियो ।
सामुदायिक वन उपभोक्ता महासंघ कोशी प्रदेशका अध्यक्ष तुलसी संग्रौलाले काठको स्वामित्वको विवाद नटुंगिएसम्म पूर्वपश्चिम राजमार्ग अन्तरगत सामुदायिक वन क्षेत्रभित्रका रुखहरु काट्न नदिने चेतावनी दिए । ‘हामी सहमतिका साथ अगाडि बढ्न चाहन्छौं, जबरजस्ती गर्न खोजियो भने उपभोक्ताहरु रुखका फेद समातेर बस्नेछन् र त्यहाँ द्वन्द्व र हिंसाको अवस्था आउन सक्छ त्यसो नगरियोस्,’ छलफलका क्रममा अध्यक्ष संग्रौलाले भने ।
काकडभिट्टादेखि लौकहीसम्म १२० किलोमिटर सडकलाई चार लेनमा बिस्तार गर्ने काम झापा तर्फबाट सुरु भइसकेको छ । सहरी क्षेत्रमा सर्भिस लेनसहित ५० मिटर, अर्धसहरी क्षेत्रमा ३३ मिटर र वन क्षेत्रमा २४ मिटर चौडामा सडक विस्तार गरिदैछ । त्यसका लागि सडक विस्तारका लागि साइड क्लियर गर्ने क्रममा १२ हजार भन्दा बढी पोथ्रा र रुखहरु काटिनेछन् । मोरङको उर्लाबारीदेखि सुन्दरहरैंचा नगरपालिकासम्म ५ हजार २५० भन्दा बढी रुख काटिने छन् । त्यसमध्ये ठूला रुखको संख्या २ हजार ९४१ रहेका छन् भने बाँकी २२ भन्दा बढी पोथ्रा छन् । त्यसबाट ५६ हजार क्युविक फिटभन्दा बढी काठ उत्पादन हुनेछ । मोरङ खण्डमा १८ वटा सामुदायिक वनहरुले त्यो काठको स्वामित्व दावी गरेका हुन् । त्यसबाहेक सडक किनारमा रहेका १२३ वटा रुखहरु भने नेपाल सरकारको हुनेमा कुनै विवाद नभएको बताए ।
प्रतिक्रिया दिनुहोस्