Ads

सुदुरपश्चिममा होरीको रौनक


धनगढी, सुदूरपश्चिम प्रदेशको तराईवासी रानाथारू समुदायमा होरीको रौनक बढेको छ । होरीमा बज्ने ढोल, गाउने गीत, होरी नृत्यका कारण रानाथारू बस्ती होरीमय बनेको हो । माघ पूर्णिमादेखि फागुनपूर्णिमासम्म एक महिना आठ दिन यो समुदायले होरी पर्व मनाउने चलन रहेको छ ।

अहिले रानाथारू बस्ती होरीको गीत र नाचगानले गुञ्जायमान बनेका छन् । होरी पर्व रानाथारूको सबैभन्दा ठुलो पर्व हो । डा। रानाका अनुसार रानाथारू समुदायले जिन्दा र मरी गरेर दुई प्रकारले होरी मनाउने चलन छ ।

माघ पूर्णिमादेखि होलिका दहनको समयसम्म मनाइने होरी पर्वलाई जिन्दा होरी भन्ने गरिन्छ । यो अवधिमा पधना, भलमनसा, चाकर, चौकीदारको घरपछि गाउँका अरू मानिसको घरमा राति होरी नाच नाच्ने चलन रहेको छ । जिन्दा होरीको अवधि एक महिना रहने गरेको छ ।

होलिका दहनपछि आठ दिनसम्म मरी होरी मनाइने गरिन्छ । मरी होरी सुरु भएको बेला रङ, अबिर खेल्ने र फगुहा दिने चलन रहेको बताइएको छ ।

त्यस्तै भिनाजुले सालीलाई रङ, अबिर दलेर केही उपहार दिनुलाई फगुहा भन्ने गरिन्छ । त्यसै गरी साला र जेठानको श्रीमतीलाई पनि रङ, अबिर दलेर फगुहा दिने चलन रहेको छ । मरी होरीमा पधना, भलमनसा, चाकरको घरमा होरीको टीका लगाइसकेपछि होरी नाच नाच्ने र रमाउने, मिठो मिष्ठान खाने चलन रहेको छ ।

मरी होरीमा दिउँसोको समयमा मात्रै होरी नाच नाच्ने चलन रहेको जनाइएको छ । मरी होरीको अन्तिम दिनलाई खख्डेहरा भन्ने गरिन्छ । गाउँभरिका मानिसले बिहानै खख्डेहरा फुटाएपछि एक महिना आठ दिनसम्म मनाइने होरीको विधिवत् रूपले समापन हुने गरेको बताइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू