Ads

सिँचाइको व्यवस्थासँगै भरतपुरका जमिन चैते धानले हराभरा


चितवन । केही वर्षअघिसम्म पश्चिम चितवनका जमिन आकासे खेतीमा निर्भर थिए । कतिपय क्षेत्रमा सिँचाइ नहुँदा ती स्थान बाँझै हुन्थे जुन ‘लाखु टाँडी’ भनेर चिनिन्थे । भरतपुर–२५ का छविलाल न्यौपाने उहिलेको लाखु टाँडीमा अहिले चैते धान रोप्न थालेको बताउछन् । उनले भने, “पहिले यहाँ तीन बिघा जमिन हुने, एक कठ्ठा घोल खेत हुनेभन्दा गरिब गनिन्थे ।” कतिपयले त विवाह गरेर छोरी दिनुपर्दा टाँडी जमिन हुनेलाई दिनसमेत हिच्किचाउने गरेको उनी बताउछन् । उनले भने, “कुनै बेला सिँचाइ अभावमा खेती नहुने पश्चिम चितवनका टाँडीमा बोरिङसँगै खेती हराभरा हुन थालेको छ ।”

भरतपुर महानगरपालिका–२७ नयाँपटिहानीका जीवन महतो आइतबार मध्याह्न खेतमा पानी पटाउन तल्लीन हुनुहुन्थ्यो । उनले करिब दुई बिघा क्षेत्रफलमा लगाएको धानखेतीलाई सिँचाइका लागि बोरिङ सञ्चालन गरेर पानी पटाउँदै थिए । उनले भने, “सिँचाइका कारण अहिले हाम्रो जीवनमा नै परिवर्तन आएको महसुस गरेका छौँ ।” सिँचाइ भएसँगै यस क्षेत्रमा बिगौँबिघा धानखेती गर्न किसान आकर्षित भएको उनले बताए ।

स्थानीय किसान हठन महतो पहिला दुई बाली मात्रै लगाइने आफ्नो जमिनमा तीन बाली खेती गर्न थालेको बताउछन् । सिँचाइको समस्या हुँदा आकासे पानीको भरमा धान, मकै, तोरीजस्ता बाली लगाउँदै आएको बताउने उनी अहिले आफ्नो १० कठ्ठा जग्गामा चैते धानखेती गरिरहेका छन् । विगत केही वर्षदेखि सिँचाइको व्यवस्था गरेर चैते धान लगाउन थालेको उनले बताए । सिँचाइ सुविधा भएपछि यस क्षेत्रका किसानले धानसँगै तरकारीखेती गर्न थालेको उनले बताए । उनले भने, “सिँचाइले गर्दा हाम्रो आयआर्जनमा सहयोग पुगेको छ ।”

स्थानीय किसान महतो अहिले दुई बाली धान र एक बाली तोरी र फापर लगाउने गरेको बताउछन् । सुक्खा क्षेत्रका रूपमा रहेको यस क्षेत्रमा सिँचाइको व्यवस्थासँगै पश्चिम चितवनको भरतपुर महानगरपालिकाका बासिन्दामा उत्साह थपिएको उनले बताए । भरतपुर महानगरपालिका, चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालगायतले सिँचाइको व्यवस्था गरेपछि यहाँको खेती प्रणाली नै फेरिएको हो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आफू पहिलोपटक प्रमुख भएपछि थालिएको पहिलो महत्त्वपूर्ण काम सिँचाइ भएको बताउछन् । पश्चिम चितवनका कतिपय टाँडी भूभागमा किसानलाई सिँचाइ अभाव भएको गुनासो आएपछि निरन्तर सिँचाइ अभियानमा जुटेसँगै यहाँको कृषि प्रणालीमा परिवर्तन ल्याउन सकेको उनी बताउछन् ।

आफू प्रमुख भएर आएपछि सात हजार बिघामा थप सिँचाइ भएको उहाँको दाबी छ । भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना आफ्नै पहलबाट भरतपुरमा आएको भन्दै उहाँले तत्कालीन समयमा चितवन र झापाबाट सो कार्यालयले काम सुरु गरेको बताए । उनले भने, “म पहिलोपटक निर्वाचनमा उम्मेदवार हुँदा पश्चिम चितवनका सुक्खा क्षेत्रका मतदाताले सिँचाइ माग गरेको थियो । त्यो क्रमशः पूरा हुँदै गएको छ ।”यकिन तथ्याङ्क नभए पनि नेपालमा छोटो समयमा धेरै क्षेत्रमा भूमिगत सिँचाइ भरतपुरमै भएको महानगरप्रमुख दाहालले बताए । हिउँदमा पनि सिँचाइ गर्न नारायणी लिफ्ट आयोजनामा रु २९ करोडभन्दा बढी खर्च गरेर पम्प थप्ने काम भइरहेको उनले जानकारी दिए।

महानगरले विगत तीन आर्थिक वर्षमा साना सिँचाइका लागि चार सय ७८ वटा बोरिङ र मझौला सिँचाइका लागि ५५ वटा बोरिङ किसानलाई वितरण गरेको छ । यसबाट किसान प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाले जिल्लामा दुई हजार तीन सय ९१ हेक्टर क्षेत्रफल सिँचाइ गरेको छ । कार्यालयका सूचना अधिकारी अमरसिंह राईका अनुसार भरतपुर महानगरपालिकामा मात्रै एक हजार पाँच सय ८७ हेक्टर क्षेत्रफल सिञ्चित हुने आयोजना सञ्चालनमा आइसकेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू