काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको भेटवार्ता गरेका छन् ।
मंगलबार दिउँसो गृह मन्त्रालयमा भएको भेटमा ऐतिहासिक सम्बन्ध र भौगोलिक निकटताको आधारमा दुई देशबीच जनस्तरमा रहेको गहिरो, वृहत् र विविधतापूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन गर्नुपर्ने प्रयासबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा राजदूत श्रीवास्तवले सीमावर्ती क्षेत्रमा हुने साना अपराध नियन्त्रण र मानव ओसारपसार समन्वयका लागि थप नीतिगत प्रबन्ध गर्नुपर्नेमा जोड दिएका थिए ।
उनले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा पुनःनिर्माणका लागि अनुदान र सहायता प्रदान, राष्ट्रिय प्रहरी प्रतिष्ठानको निर्माण समयमै सक्न र प्रहरीका लागि विशिष्ठकृत तालिम उपलब्ध गराउने स्रोतका लागि भारत तयार रहेको बताएका थिए ।
गृहमन्त्री लामिछानेले दुई देशबीच रहेका संयन्त्रमार्फत सहयोग आदान–प्रदानमा थप समन्वय, सहमतिका लागि प्रस्तावित क्षेत्र र विषयमा तत्काल छलफल गरिने तथा जाजरकोट र रुकुम पश्चिमको पुनःनिर्माणमा भारत सरकारले प्रदान गर्ने अनुदानको उपयोगका लागि प्रक्रियागत सहजीकरण गरिने बताएका थिए ।
उनले तरकारी र फलफूलमा विषादी परीक्षण गर्ने संयन्त्र सीमावर्ती क्षेत्रमा बढाउनुपर्ने र भएकालाई स्तारोन्नतिसहित नियमित र विश्वासिलो बनाउनुपर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्