Ads

समिति सभापति खतिवडाको बैठक राख्ने तरिकाप्रति गुरुङको आपत्ति:‘पूर्वतिर हेरेर पश्चिम हान्ने काम नगराैँ’


काठमाडाैँ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकका एजेन्डामाथि सत्तापक्षीय दल एमालेका सांसदले आपत्ति जनाएका छन्।

समितिको आजको बैठकमा एमाले सांसदहरू पृथ्वीसुब्बा गुरुङ र कृष्णगोपाल श्रेष्ठले मजबुत र गह्रुँगा एजेन्डा हुनुपर्नेमा सभापतिले अस्पष्ट र हलुका एजेन्डा राखेको भन्दै आपत्ति जनाए।

दुवै सांसदले एकठाउँबाट पसेर अर्को ठाउँमा निस्कने गरी एजेन्डा राखिएको आशंकासमेत व्यक्त गरे । ‘पूर्वतिर हेरेर पश्चिम हान्ने सोच कहीँ कतै छ भने स्पष्ट आउनुपर्छ,’ सांसद गुरुङले भने, ‘यति यस्तो हो भने विडम्बना हुन्छ।’

अर्का सांसद श्रेष्ठले सभापतिले राजनीतिक पूर्वाग्रह राखेर एजेन्डा राखेको आशंका व्यक्त गरे । ‘ बैठकमा आउने बित्तिकै टेवलमा हेरेको त गृहमन्त्रालयको विषयमा समसामयिक छलफल भनेर लेखिएको रहेछ,’ उनले भने, ‘एकठाउँबाट पसेर अर्को ठाउँमा निस्कने गरी एजेन्डा राखियो । गृह मन्त्रालयको समसामयिक विषयमा छलफल भनेर हिजो बेलुकी खबर गरेर बैठक राख्नु आश्चर्यजनक छ।’

उनले सभापतिले यस्ता कुरामा गम्भीर बन्नुपर्ने भन्दै नत्र एउटाले विराउँछ, सबै पिराउँछ भन्ने अवस्था आउने बताए ।

Ads

सम्बन्धित पोष्टहरू