विराटनगर । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका कारण इलामको निर्वाचन क्षेत्र नम्बर २ अहिले राष्ट्रिय चासोको विषय बनेको छ । यहाँ हुने उपनिर्वाचनका लागि अहिलेसम्म चार जना उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् । ठूला दलहरुको तर्फबाट अहिलेसम्म नेकपा एमालेले मात्र उम्मेदवार टुंगो लगाएको छ ।
पार्टीका नेता सुभाषचन्द्र नेम्बाङको निधनपछि हुन लागेको उपनिर्वाचनमा एमालेले उनकै छोरा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । नेम्वाङको गत भदौ २६ गते निधन भएपछि सोही निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
प्रदेशको नाम पहिचानसहित हुनुपर्ने माग राख्दै आन्दोलन गरिरहेका पहिचानवादीहरुको तर्फबाट डकेन्द्रसिं थेगिम उम्मेदवार बन्ने निश्चित भइसकेको छ ।
सो निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका पत्रकार मिलन लिम्बूले पनि घरदैलो अभियान सुरु गरिसकेका छन् । रास्वपाले भोलीसम्ममा उम्मेदवार बन्न इच्छुक व्यक्तिहरुबाट आवेदन लिएको छ ।
उता, नेपाली काँग्रेसले भने अहिलेसम्म उम्मेदवारको टुंगो लगाएको छैन । काँग्रेस कोशी प्रदेश सभापति उद्धव थापाले दिएको जानकारी अनुसार सो पार्टीले पनि गत चैत ११ गते ६ जना उम्मेदवारको आकाङ्क्षीको नाम केन्द्रमा पठाइसकेको छ । काँग्रेसले महाधिवेशन प्रतिनिधि भेषराज आचार्य, पूर्वसांसद केशव थापा, जिल्ला सभापति डम्बर खड्का, संविधानसभा सदस्य नगेन्द्र कुमाल र नेता रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राईको नाम पनि सिफारिस गरेको छ ।
तेस्रो ठूलो पार्टीको रुपमा रहेको नेकपा (माओवादी केन्द्र)ले चार जनाको नाम सिफारिस गरेको छ । माओवादीले पार्टीका केन्द्रीय सदस्य धिरेन्द्र शर्मा, उर्मिला तामाङ, ओमबहादुर गुरुङ र कुमार बराइलीको नाम सिफारिस गरेको पार्टीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङले जानकारी दिए ।
नेकपा (एकीकृत समाजवादी) ले उम्मेदवार सिफारिस गर्न स्थानीय समितिलाई निर्देशन दिएपछि तीन जनाको नाम सिफारिस भएको छ । एकीकृत समाजवादीले जिल्ला सचिव हरिबाला राई, जीतबहादुर राई र पूर्ण बस्नेतको नाम सिफारिस गरेको छ । सिके राउतको राष्ट्रिय जनमत पार्टीले भने प्रेमदिप थाम्सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
२०७९ को निर्वाचनमा काँग्रेस इलामका सभापतिसमेत रहेका डम्बर खड्का नेम्वाङसँग थोरै मतले हारेका थिए । त्यसबेला नेम्वाङले ३० हजार २० मत ल्याएर विजयी भएका थिए भने खड्काले २९ हजार ९०६ मत ल्याएका थिए । काँग्रेससका उम्मेदवारलाई माओवादी, नेकपा (एकीकृत समाजवादी)को पनि साथ थियो । यसपटक केन्द्रमा गठबन्धन फेरबदल भएसँगै इलामको निर्वाचनमा कुन–कुन पार्टीबीच सहकार्य होला वा एक्ला एक्लै लड्लान् भन्ने विषय स्पष्ट भइसकेको छैन ।
प्रतिक्रिया दिनुहोस्