काठमाडौं । काठमाडौं । सादा पोशाकमा सूचना संकलनका लागि भनेर खटिंदै आएका प्रहरी परिचालन नगर्न प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।
“सादा पोसाकमा परिचालन हुने (घुमुवा प्रहरी) गैरव्यावसायिक क्रियाकलापमा संलग्न हुने गरेको गुनासोपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनअनुसार प्रहरी प्रधान कार्यालयले आज सादा पोसाकका प्रहरीको जिम्मेवारी तत्काल परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिन निर्देशन गरेको हो,” गृहमन्त्रीको सचिवालयबाट सार्वजनिक पत्रमा भनिएको छ ।
गृहमन्त्रीको निर्देशन अनुसार नेपाल प्रहरीले परिपत्र नै जारी गरिसकेको छ ।
“त्यस कार्यालय तथा मातहत समेतबाट हाल परिचालन गरिएका सादा पोसाकका प्रहरी कर्मचारीलाई (अपराध अनुसन्धान शाखामा कार्यरतबाहेक) तत्काल जिम्मेवारी परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिई निजहरूको काम, कारबाहीको समेत कार्यालय प्रमुखबाटै नियमित निगरानी गर्ने व्यवस्था मिलाउनु हुन निर्देशानुसार अनुरोध छ,” प्रहरी प्रधान कार्यालयको परिपत्रमा भनिएको छ ।
परिपत्रमार्फत जिम्मेवारी परिवर्तन गरिएका प्रहरी कर्मचारीको नामावली दुई घण्टाभित्रै केन्द्रमा पठाउन पनि मातहतका निकायलाई निर्देशन दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्