काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई आगामी निर्वाचनमा बहुमत ल्याउन सक्ने पार्टीको रूपमा स्थापित गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।
मंगलादेवी सिंह फाउन्डेसनले आइतबार काठमाडौंमा आयोेजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेसलाई आगामी निर्वाचनमा बहुमत ल्याउन सक्ने पार्टीको रूपमा स्थापित गर्नुपर्ने बताए ।
सभापति देउवाले कांग्रेसलाई आगामी दिनमा बहुमत ल्याउन सक्ने पार्टी बनाउनका लागि महिला दिदीबहिनीहरूको महत्त्वपूर्ण भूमिका हुने भन्दै त्यसमा काममा लाग्न पनि आग्रह गरे । उनले पार्टीमा आबद्ध महिलाहरूलाई अझ बढी सशक्तीकरण गर्दै नेपाली कांग्रेसलाई आगामी दिनमा बहुमत ल्याउने पार्टी बनाउन सिङ्गो पार्टी पंक्ति लाग्नुपर्ने बताए ।
सभापति देउवाले महिलाहरूको हक अधिकार संविधानमा नै स्थापित गराउने काममा मंगलादेवी सिंहले खेलेको भूमिका महत्त्वपूर्ण रहेको समेत उल्लेख गरे । उनले समावेशी, समानुपातिक र महिला हक, अधिकारको दृृष्टिले नेपालको संविधान विश्वकै संविधानमध्येको एक उत्कृष्ट दस्तावेजको रूपमा रहेको दाबीसमेत गरे ।
सभापति देउवाले नेपाली कांग्रेसले पनि संविधानअनुसार महिलालगायतका सबै समुदायको प्रतिनिधित्वलाई सुनिश्चित गराउने काम गरेको जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस्