पर्वत । पढ्नका लागि उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण पर्वतकी एक महिला नेतृले देखाएका छन् । दक्षिणी पर्वतको बिहादी गाउँपालिका–४ वहाकीकी ५० वर्षीया खगिसरा भुसालले एसइई परीक्षामा सहभागी भएर उक्त उदाहरण प्रमाणित गरेर देखाएको हो । उनले दुई छोरा र एक छोरी जन्माएर, हुर्काएर विवाहसमेत गराइसकेछन् । बूढेसकालमा सुख सयलका साथ जीवन बिताउने बेला भए पनि सानो उमेरमा पढाइ पूरा गर्न नपाएको धोको भुसालले हजुरआमा बनेपछि पूरा गर्नतर्फ लागेको छ ।
भुसाल स्थानीय वहाकी उच्च मावि परीक्षा केन्द्रबाट एसइई परीक्षामा सहभागी हुनुभएको छ । विसं २०४६ मा उहाँको विवाह भयो । कक्षा ९ को वार्षिक परीक्षा दिने बेला हुँदै थियो । त्यही बेला उनी सुन्त्केरी भएर छोरा जन्माउनुभयो । सुत्केरी भएपछि परीक्षा दिन त पाउनुभएन नै भुसालको त्यसपछिको पढाइसमेत रोकियो । पढाइ छाडेको ३२ वर्षपछि अघिल्लो वर्ष उनी गाउँकै लक्ष्मीभवन माविमा कक्षा ९ मा भर्ना भयो । कक्षा ९ उत्तीर्ण गरेर नियमित कक्षा १० अध्ययन पूरा गरेपछि अहिले भुसाल एसइईमा सहभागी भएको हो ।
पढ्नै पर्छ भन्ने कुनै बाध्यता नभए पनि आफूले थप शिक्षित बन्नका लागि ३२ वर्षपछि पुनः विद्यालय पढ्न थालेको परीक्षार्थी भुसालले बताए । उनले कक्षा ८ सम्म बिहादी गाउँपालिका–५ उरामको चन्द्र माविमा अध्ययन गरेको थियो । पाको उमेरमा भर्खरका केटाकेटीसँग बसेर अध्ययन गर्दा पनि आफूलाई असहज महसुस नभएको उहाँको भनाइ छ ।
भुसालका छोरा र छोरीबाट तीन नातीनातीनासमेत छन् । “छोराबुहारीको कमाइबाट सुखसयलमा बसेको भए पनि हुन्थ्यो, तर सानैमा धेरै पढ्न नपाएकोमा पछुतो लागिरहेकाले पुनः पढ्न थालेकी छु”, उनले भने, “एसइईपछि पनि कक्षा ११ र १२ अध्ययन गर्ने योजना छ ।”
भुसाल बिहादी गाउँपालिकाकी पूर्वजनप्रतिनिधि हुन् । उनी पहिलो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेर गाउँ कार्यपालिका सदस्य बन्नुभएको थियो । भुसालले अहिले सक्रिय राजनीति गर्दै आएको छ । उनी नेपाली कांग्रेस बिहादी गाउँ कार्यसमितिको सदस्य तथा नेपाल महिला सङ्घ बिहादीको कोषाध्यक्षसमेत रहेको छ ।
भुसालले १७ वर्ष महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा पनि काम गरिसकेका छन् । कार्यपालिका सदस्यमा विजयी भएपछि उनले स्वयंसेविका छाडेको हो । उनले २०४८ सालबाटै नेपाल विद्यार्थी सङ्घको जिल्ला सदस्य भएर राजनीति गर्दै आएको हो ।
“राजनीति होस् वा अन्य क्षेत्रमा पढाइको ज्ञानसँगै प्रमाणपत्रसमेत आवश्यक पर्ने भएकाले पनि मलाई विद्यालय जान रहर जागेको हो”, उनले भने । घरमा छोराछोरीको जिम्मेवारी पूरा गरेपछि पढ्न सहज भएको उनले बताए । भुसालका श्रीमान् तिलक भुसाल नेपाली कांग्रेका नेता हुन् । उनी नेपाली कांग्रेस पर्वतको सहसचिव तथा सङ्गठन विभाग प्रमुख रहेका छन्।
“सानै उमेरमा विवाह भएपछि पढाइ रोकिएको थियो, अहिले पुनः विद्यालय गएर पढ्न थालेकी छिन”, श्रीमान् तिलकले भने, “उनको इच्छाअनुसार जहिलेसम्म पढ्छिन, त्यति बेलासम्म पढ्ने वातावरण मिलाउँछु ।” श्रीमतीको पठनपाठन प्रभावित नहोस् भनेर आफूले घरायसी काममा सहजीकरण गरिदिने गरेको तिलकले बताए ।
शिक्षा विकास तथा समन्वय एकाइ पर्वतले पर्वतमा एसइई दिने दुई हजार २८ विद्यार्थीमध्ये खगिसरा भुसाल सबैभन्दा पाको उमेरको विद्यार्थी रहेको जनाएको छ । कार्यालय प्रमुख उद्धिमराज पौडेलले भुसाल ५० वर्ष नाघेको विद्यार्थी रहेको भन्दै उनी जिल्लामै सबैभन्दा बढी उमेरको विद्यार्थी भएको बताए । पर्वतकै पैंयु गाउँपालिकास्थित जनसेवा संस्कृत माविबाट १२ वर्षका शक्ति अधिकारीले पनि एसइई परीक्षा दिएका छन् । अधिकारी जिल्लाकै सबैभन्दा कान्छो उमेरका विद्यार्थी हुन् ।
प्रतिक्रिया दिनुहोस्