काठमाडौँ, । दैलेखको भैरवी गाउँपालिका –१ जलजलेमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि ड्रिलिङ सर्भेको काम सुरु भएको छ । सर्भेका लागि चीनबाट आवश्यक उपकरणहरु ल्याउने क्रम जारी छ ।
केही उपकरण अन्वेषण स्थलमा आइपुगेको छ भने केही रुपैडिया भन्सारमै रहेको खानी तथा भूगर्भ विभागका पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख दिनेशकुमार नापितले बताए । चीनबाट भारतको कोलकत्ता हुँदै उपकरणहरु नेपालगञ्जको रुपैडिया नाकामा आइपुगेको हो ।
उनले भने “पेट्रोलियम पदार्थ अन्वेषणका लागि ड्रिलिङको सर्भे काम सुरु गरेका छौँ, आवश्यक उपकरणहरु केही आइसकेका छन्, केही भन्सारमै छन्, ल्याउने क्रममा छौँ ।”
ड्रिलिङ भएको पाँच महिनाभित्र अन्वेषणको काम सुरु हुने जनाईएको छ । नापितका अनुसार ड्रिलिङ सर्भे अन्तिम परिणामसहितको सर्भे भएकाले दैलेखमा कति मात्रामा पेट्रोलियम पदार्थ छ भन्ने यकिन हुनेछ । साथै कति गहिराइमा पेट्रोलियम पदार्थ छ भन्ने मापन हुने छ । ड्रिलिङ भएको पाँच महिनाभित्र अन्वेषणको काम सुरु हुने छ ।
दैलेखमा २०७६ सालदेखि पेट्रोलियम पदार्थको अन्वेषणको काम सुरु भएको थियो। नेपाल र चीनको प्राविधिक टोलीले पहिलो चरणअन्तर्गत ‘सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे’ गरी चार वटा सर्भे गरिसकिएको छ ।
यी प्रारम्भिक रुपमा गरिएका सर्भेले तीन ठाउँमा ड्रिलिङ गर्न सुझाव दिएका थियों । अहिले जलजले क्षेत्र बढी उपयुक्त मानेर यस क्षेत्रमा नै पहिले ड्रिलिङ सर्भे गर्न लागिएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्