काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाको विकासले देशलाई नै सन्देश दिएको दाबी गरेका छन् ।
शुक्रबार भरतपुरमा महानगरको प्रशासकीय भवनको शिलान्यास कार्यक्रममा बोल्दै उनले राष्ट्रिय राजनीतिमा पार्टीहरू एकजुट नभएपनि भरतपुरमा मेयरले आफ्नो नेतृत्वमा सबै पार्टीलाई एकजुट बनाएर विकासका काम अघि बढाएको बताए।
उनले स्थानीय तहको चुनाव, प्रदेश र संघको चुनावमा फरक फरक गठबन्धन बनाएर चुनावमा जानुपर्ने परिस्थिति बनेपनि भरतपुर महानगरपालिका भने दलहरुबीचको सम्बन्ध राम्रो रहेको बताए । उनले भने–‘यी विभिन्न परिस्थितिका बावजुद पनि भरतपुर महानगरपालिकामा एकता अक्षुण रह्यो । यो बीचमा प्राप्त थुप्रै सफलताको रहस्य मध्ये के हो भन्दा, देशमा आएको उतार चढाव, पार्टीहरूमा आएको उतार चढावहरु, एकता, समीकरण र विभाजनहरु, त्यसले राष्ट्रिय राजनीतिमा उत्पन्न गरेका तरंगहरु रहे, तर भरतपुर महानगरमा मेयरको नेतृत्वमा त्यो परिवार एक ढिक्का रहिरह्यो । त्यो एकता खलबलिएन् ।’
उनले महानगरको विकासको रहस्य मेयरमा रहेको सकारात्मक सोच नै मुख्य रहेको उल्लेख गरे । उनले भने–‘भरतपुर महानगरको विकासको रहस्य मेयरको सकारात्मक सोचमा कारण हो । अर्को दृढ इच्छा शक्ति हो ।’
नेपाली कांग्रेसका धेरै वडाध्यक्ष , एमालेका वडाध्यक्षहरुले सहयोग गरेर मेयरले विकास गरेको उनले बताए ।
अध्यक्ष प्रचण्डले आफ्नो निर्वाचन क्षेत्रका साथै राष्ट्रिय जिम्मेवारीलाई निजी, सहकारी र सरकारी साझेदारीको मान्यताका आधारमा काम गर्दै जाँदा चितवनको विकासलाई पनि प्राथमिकतामा राखेको बताए । उनले भरतपुर महानगरमा रिङरोड निर्माणको टेन्डर प्रक्रिया अघि बढेको र ४१ किलोमिटर रिङरोड बनिसकेको उल्लेख गरे ।
उनले रिङरोड बनेर काम सकिन लागेपनि विपक्षीहरुले भन्न नचाहेको, सिटी हल दुःख गरेर अघि बढाएको काम पनि विपक्षीले भन्न नचाहेको भन्दै गुनासो समेत गरे ।
प्रतिक्रिया दिनुहोस्