Ads

एक चौथाई जनसंख्या सहकारी पीडित


काठमाडौं । विभिन्न सहकारीबाट देशको कुल जनसंख्याको झण्डै एक चौथाई पीडित भएको अनुमान गरिएको छ । देशभरका ३१ हजार बढी सहकारी रहेकोमा १५ हजार बढी सहकारीले ७३ लाख बचतकर्ताको अर्बौं रुपैयाँ ठगी गरेको अनुमान छ । यो हिसाबले कुल जनसंख्याको २५ प्रतिशत सहकारीबाट ठगिएको देखिन्छ । तर सरकारले भने सहकारी ठगी प्रकरणलाई सामान्य रुपमा लिइरहेको छ ।

सहकारी पीडित बचतकर्ता महासंघका अनुसार देशभरका झन्डै १५ हजार सहकारीले ७३ लाख बचतकर्ताको ६५ अर्ब रूपैयाँभन्दा बढी रकम ठगी गरेका छन् । सहकारीबाट ठगिनेहरुमा अधिकांश निम्न वर्गमा मानिसहरु रहेका छन् भने उच्च ब्याजको लोभमा सहकारीमा पैसा राख्ने माथिल्लो वर्गका पनि थुप्रैले सम्पति गुमाएका छन् । सर्वसाधारणलाई लोभलाग्दो ब्याजदर देखाएर रकम जम्मा गरेका सहकारी संचालकहरुले त बदमासी गरे गरे, रकम जम्मा गर्नेहरुमा पनि सहकारी सम्बन्धि ज्ञान नहुँदा यो अवस्था आएको हो ।

कोरोना महामारी र रुस–युक्रेन युद्ध लगायतका अन्तर्राष्ट्रिय समस्याले देश आर्थिक संकटमा फसेका कारण पनि सहकारीमा समस्या आएको सहकारी विभागको तर्क रहेको छ । त्यसमाथि सहकारी संचालक र सदस्यहरुमा अनुशासन नहुँदा हजारौ बचतकर्ताको निक्षेप डुबेको सहकारी बिभागका शाखा अधिकृत निरोज घिमिरेले बताए ।

१५ हजार सहकारीले ७३ लाख बचतकर्ता डुबाउँदा पनि सरकारले भने अहिलेसम्म २० वटा सहकारीलाई मात्रै समस्याग्रस्त घोषणा गरेको छ । समस्याग्रस्त घोषणा गरिएकामध्ये दुईवटाको हिसाब राफसाफ गरेर बचतकर्ताको रकम फिर्ता गरिएको दाबी सहकारी बिभागको छ । सहकारी सञ्चालकहरुले निक्षेपकर्ताहरुबाट उठाएको रकम घर जग्गा र शेयरमा लगानी गर्दा यस्तो समस्या आइपरेको विभागको विश्लेषण छ ।

Ads

सम्बन्धित पोष्टहरू

वडाध्यक्ष साहको निधन
वडाध्यक्ष साहको निधन
कार्तिक ३०, २०८१