Ads

गलकोटका छ स्थानमा आगलागी : ३० बस्ती उच्च जोखिममा


बागलुङ । बागलुङको गलकोटमा भीषण आगलागी भएको छ । गलकोट नगरपालिकाका छ सामुदायिक वनमा आगलागी हुँदा करिब ३० बस्ती उच्च जोखिममा छन् ।

वडा नं २ को किटेनी सामुदायिक वन, शिलाजित मधुवन, वडा नं ३ को पालेवन सामुदायिक वन, वडा नं ९ को मौरीभिर सामुदायिक वन, पाण्डुकेश्वरी सामुदायिक वन र वडा नं ८ को मकैखोरी वनमा आगो लागेको नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिए ।

किटेनी सामुदायिक वन र शिलाजित मधुवनमा लागेको आगो नियन्त्रणमा लिए पनि अन्य चार सामुदायिक वनको आगो नियन्त्रण बाहिर रहेको उनको भनाइ छ । स्थानीयको लापरबाहीका कारण आगलागी भएको भन्दै नियन्त्रण गर्ने प्रयास गरिरहेको प्रवक्ता भण्डारी बताउनुहुन्छ । यही चैत २५ गते दिउँसोदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा नआउँदा ठूलो क्षेत्रफलको वन सखाप भएको उनको भनाइ छ ।

गलकोट–९ का अध्यक्ष तेजबहादुर थापाले आगोले झन् ठूलो रुप लिन थालेपछि बस्ती जोगाउन समस्या भएको बताए । वनमा लागेको आगो बस्तीतर्फ पस्न थालेपछि सोमबार राति १० बस्तीलाई सुरक्षित स्थानमा सारेको जनाउँदै अझै करिब ३० बस्ती उच्च जोखिममा रहेको उहाँको भनाइ छ । गलकोट–८ र ९ मा लागेको आगोले ज्यामिरे, मल्म, तारगा गाउँका धेरै बस्ती उच्च जोखिममा रहेको अध्यक्ष थापाले जानकारी दिए ।

स्थानीयले नियन्त्रण गर्न नसकेपछि आगो बस्तीमा पस्न थालेको उनले बताए । वनमा सुकेको पस्र्याउला, घाँस र दाउरा भएको हुँदा आगोले ठूलो रुप लिएको अध्यक्ष थापाको भनाइ छ । दमकल नहुँदा आगो नियन्त्रणमा समस्या भएको उनी बताउछन् । अहिलेसम्म मानवीय क्षति भने नभएको थापाले बताए ।

उनले भने, “आइतबारदेखि लागेको आगो अहिलेसम्म नियन्त्रण हुन सकेको छैन, नियन्त्रणमा लागि धेरै प्रयास गरियो तर सफल हुन सकेका छैनौँ, हिजो राति सालघारी टोलसहित १० बस्तीलाई सुरक्षित स्थानमा सारेका छौँ, आगो निभाउने सम्भावना छैन, अहिलेसम्म कुनै पनि मानवीय क्षति हुन दिएका छैनौँ, दमकलको सुविधा छैन, मान्छेले नियन्त्रण गर्न सकिने अवस्था छैन, यही रुपमा आगो बढ्दै गयो भने धेरै गाउँका बस्ती जल्ने खतरा बढेको छ, यो हाम्रो नियन्त्रण बाहिर भयो ।”

Ads

सम्बन्धित पोष्टहरू