Ads

बाघ जोगाउनै कठिन


काठमाडौ, उद्धार केन्द्र र संरक्षित क्षेत्रको सुरक्षा घेरामा दुर्लभ पाटेबाघ धमाधम मर्न थालेका छन् । देशका विभिन्न राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रस्थित उद्धार केन्द्रमा राखिएका पाटेबाघ मर्ने क्रम जारी रहेपछि संरक्षणकारी निकायमा चिन्ता बढेको छ । उद्धार केन्द्रमा राखिएका बाघको रेखदेख राम्रो नहुँदा मर्न थालेको संरक्षणकर्मीले आरोप लगाएका छन् ।

पर्सा राष्ट्रिय निकुञ्जमा विगत छ महिनायता उद्धार केन्द्रमा राखिएका तीन वटा बाघ मरेका छन् । अन्य थप चार वटा बाघ वन परिसरमै मृत फेलापरेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाका अनुसार अस्थायी उद्धार केन्द्रमा उपचारको सुविधा राम्रो नहुँदा बाघको मृत्यु भएको हो ।

तत्काल उद्धार गरेर राख्न बनाएको खोरमा दुई वटा बाघ राख्ने क्षमता छ । तर मानवभक्षी भएपछि पक्रेर तीन वटा राखिएका थिए । तीनमध्ये एउटालाई पक्रँदै घाउचोट बढी भएर कमजोर रहेकाले मृत्यु भएको बताइएको छ । अर्को बाघ आपसमा जुधेर आँखा फुटेको थियो र टाउकोमा लागेको चोटबाट सङ्क्रमण फैलिएर मृत्यु भएको थियो । अर्को बाघ बिरामी परेपछि औषधीसहितको खाना खुवाउन खोज्दा पनि सात दिन लगातार खाना नखाएर कमजोर भएका कारण मरेको प्रमुख संरक्षण अधिकृत खतिवडाले जनाए ।

पक्रेका पाटेबाघलाई खोरमा राख्नु भनेको उनीहरूलाई यातना दिएर जेलमा राखेसरह हुने उनी बताउँछन् । ‘कम्तीमा एउटा क्लिनिक उद्धार केन्द्रमा हुनै पर्छ । अन्यथा बाघलाई बचाउन सकिँदैन’ उनको भनाई छ । यीमध्ये एउटा बाघ चितवनमा राख्ने ठाउँ नभएपछि पर्सा लगिएको थियो । सन् २०२२ को गणना अनुसार पर्सामा ४१ वटा वयस्क बाघ छन् ।

बाघको सङ्ख्या सबैभन्दा धेरै १२८ रहेको चितवन राष्ट्रिय निकुञ्जमा गत वर्ष उद्धार केन्द्रमा रहेको एउटा बाघ मात्र मरेको निकुञ्जले जनाएको छ । यसले पनि अस्पताल वा उपचारको सुविधा सहज हुँदा खोरमा राखिएका बाघ बढी बाँचेको पुष्टि हुन्छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जाका अनुसार चितवनका उद्धार केन्द्र वन्यजन्तुमैत्री रहेकाले पनि मरण कम छ । त्यसरी खोरमा राखिने प्रायः बुढा, बिरामी र घाइते बाघ पक्रेर राख्ने गरिन्छ ।

Ads

सम्बन्धित पोष्टहरू