काठमाडाैँ । सभामुख देवराज घिमिरेले प्रतिपक्षी दलहरू नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई दोहोरो चरित्र प्रदर्शन नगर्न आग्रह गरेका छन्।
आइतबार बसेको प्रतिनिधिसभा बैठक सुरु हुनासाथ कांग्रेस र राप्रपाका सांसदहरू उठेर विरोध गरेका थिए।
कार्यव्यवस्था परामर्श समितिमा भएको समझदारी पालना नगरिएको भन्दै उनले रोष जनाए । समिति बैठकमा केही कार्यसूची हटाएर जरुरी विषय मात्र सदनमा प्रवेश गराउने सहमति भएको थियो । सोहीअनुसार बैठक अघि बढाउन खोज्दा कांग्रेस, राप्रपा, लोसपाका सांसद उठेका थिए ।
सभामुखले सहमतिको आधारमा अघि बढ्न आग्रह गर्दै गलत परिपाटी नबसाउन ध्यानाकर्षण गराए ।
कार्यसमितिमा भएका धारणा र निर्णयको आधारमा बैठक सञ्चालनमा सहज गर्न अनुरोध गर्दै उनले भने, ‘कार्य व्यवस्था परामर्श समितिमा भएका विषय र समझदारी जानकारी गराउन चाहन्छु । त्यहाँ एउटा कुरा गर्ने, यहाँ आएर अर्को कुरा गर्ने हामी कस्तो पारिपाटीको विकास गर्दैछौं ? यस्तो गलत परिपाटीको विकास गर्न हामी उद्धत नहौँ । जे सहमति गर्छौं त्यसको आधारमा अघि बढौं ।’
त्यसपछि उनले ७ वटा कार्यसूची हटाइएको जानकारी गराए । सभामुखले राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउनुका साथै लगातार १० भन्दा बढी बैठकमा अनुपस्थित सदस्यको नाम नामेसी पढेर सुनाउने कार्यसूचीमात्र समावेश गरिएको छ । त्यस्तै चालू अधिवेशनमा भएगरेका काम कारबाहीको संक्षिप्त जानकारी गराइयो ।
प्रतिक्रिया दिनुहोस्