काठमाडाैं । नेकपा एमाले र माओवादीका तर्फबाट इलाम क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका सुहाङ नेम्वाङले जातीय भेदभाव र सामाजिक विखण्डनले समृद्धिको बाटो छेक्ने बताएका छन् ।
उनले इलाम क्षेत्र नम्बर २ अन्तर्गत इलामको मङ्गलबारेमा भएको कार्यक्रममा अहिले देश समृद्धिको बाटो हिँडेको भन्दै यो बेला सामाजिक सम्बन्धमा खलल पुग्ने बाटोमा लाग्न नहुने बताए ।
उनले सुशासनमा देखिएको समस्याले विकास निर्माणमा ढिलाइ भएकाले यो समस्या समाधान गर्न पनि सबै एक हुनुपर्ने बताए । इलामको विकासमा आफ्ना बुबा सुवासचन्द्र नेम्वाङले गरेको विकास स्मरण गराउँदै उनले जनताका सामु पुग्दा उनीहरूको आँखामा आँसु पनि देखेको बताए ।
विगतका निर्वाचनमा आफ्ना बुबालाई गरेको विश्वास शिरमा राखेर आफूले सधैँ काम गर्ने सुहाङले बताए । उनले भने, ‘ बुबाले गर्न नसकेका र देखेका सपना पूरा गर्न कुनै पनि कमी हुन दिन्नँ । यहीँबाट प्रतिबद्धता व्यक्त गर्दछु ।’
‘इलाम धेरै सुन्दर छ । इलाम सम्भावना नै सम्भावना बोकेको क्षेत्र हो । यो क्षेत्रलाई कसरी अझै राम्रो बनाउने भन्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ’, सुहाङले थपे । उनले कुनै पनि देश रातारात विकसित नभएको दाबी गर्दै देश विकासका लागि युवाहरू एक भएर अगाडि बढ्नुपर्ने बताए । उनले आफ्ना बुबा सुवास नेम्वाङको पहलमा किराँत धर्मगुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरिएको भन्दै आफू पनि प्रकृतिपूजक भएकाले यो क्षेत्रको विकासमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्