Ads

वीरेन्द्र तालमा हिमपहिराे,बूढीगण्डकी तटीय क्षेत्रमा सतर्क रहन गृहकाे आग्रह


काठमाडाैं । उत्तरी गोरखाको वीरेन्द्र ताल फुटेर बूढीगण्डकीमा बहाव बढेकाले तल्लो तटीय क्षेत्रमा सतर्क रहेन गृह मन्त्रालयले आग्रह गरेको छ।

आइतबार बिहान चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र ताल फुटेको मन्त्रालयले जनाएको छ।

‘हिउँ पहिरोले गोखराको चुमनुब्री गाउँपालिका–१ स्थित वीरेन्द्रताल फुट्दा बूढीगण्डकी नदीमा पानीको बहाव उच्च भएको छ।बिहान पौने नौ बजेतिर तालमा ठूलो हिउँ पहिरो झरेको स्थानीयले बताएका छन्,’ गृह मन्त्रालयका प्रवत्ता नारायणप्रसाद भट्टराईले भने।

बाढीले नदी आसपास क्षति गर्न सक्ने भन्दै गृह मन्त्रालयले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। ‘बाढीले क्षति गर्ने संभावना हुन्छ। बाढी आउनुपूर्व नै सुरक्षित रहन अपील गर्दछौं’, उनले भने।

घटनाबारे बुझ्न सामागाउँ चौकीबाट प्रहरी त्यसतर्फ गएको पनि प्रवत्ता भट्टराईले बताए। चुमनुव्री गाउँपालिका अध्यक्ष नीमा लामाले सामागाउँमा रहेको काठेपुल बगाएको बताए।

त्यसबाहेक अन्य क्षतिको विवरण आइनसकेको उनले बताए। ‘ताल फुटेको जानकारी पाएका छौं। ताल फुटेर सामागाउँको काठेपुल बगाएको जानकारी पाएका छौं। अहिलेसम्म बस्तीमा चाहिँ क्षति पुगेको छैन,’ उनले भने।

वीरेन्द्र ताल फुट्दा, चुमनुव्री, धार्चे गाउँपालिकाको तटीय क्षेत्रमा जोखिम बढेको छ। धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरूङले तालमाथि रहेको हिउँको ढिस्को झरेको जानकारी आएको बताए।

‘ताल फुटेको नभइ तालमाथि रहेको हिउँको ढिस्को झरेको जानकारी आएको छ। हामीले तटीय क्षेत्रमा रहेका बासिन्दालाई सतर्क रहन भनेका छौं। बाढी धेरै ठूलो छैन। वर्षामा आउने भेलजस्तै रहेको स्थानीयले बताएका छन्,’ उनले भने।

Ads

सम्बन्धित पोष्टहरू