काठमाडौ\ नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको छ । यसअवसरलाई सत्तारुढ नेकपा (एमाले) ले आज हीरक महोत्सव गरि मनाउँदैछ ।
गोदावरीको सनराइज हलमा हुने महोत्सवमा एमालेले प्रधानमन्त्रीदेखि विभन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरेको छ।
हीरक महोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरू नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलाई निम्तो दिइएको छ।
सत्ता साझेदार दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द र नेकपा (क्रान्तिकारी माओवादी) मा महासचिव मोहन वैद्यलाई पनि निम्तो दिइएको छ।
नेकपा स्थापनाको ७५ औं वर्ष पूरा गरेको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रम भएकाले क्रियाशील राजनीतिक दलका प्रमुख, सरकार प्रमुखहरूलाई आमन्त्रण गरिएको एमालेका सचिव योगेश भट्टराइले जानकारी दिएका छन्।
भारतको कोलकातामा रहेका पुष्पलाल श्रेष्ठले नेपाली राष्ट्रिय कांग्रेसबाट राजीनामा दिई मार्क्सवादको अध्ययन गरी २००५ चैत २३ गते ‘कम्युनिष्ट घोषणापत्र’लाई नेपाली भाषामा अनुवाद गरेपछि नेपालमा कम्युनिष्ट विचारको प्रकाशनको सूत्रपात भएको मानिन्छ।
नेपालमा २००६ वैशाख १० गते ९१९४९ अप्रिल २२० का दिन श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को स्थापना भएको हो । समाजवाद स्थापनाको लक्ष्यसहित स्थापित नेकपामा श्रेष्ठ संस्थापक महासचिव थिए। नेकपाका संस्थापकहरुमा निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ हुनुहुन्थ्यो । स्थापनाकालमा एउटै रहेका कम्युनिष्ट पार्टी विभाजन र एकताको शृङ्खलाबाट गुज्रँदै आएका छन्। अहिले पनि विभिन्न धार र समूहमा कम्युनिष्ट तथा वाम पार्टी सञ्चालित छन्।
प्रतिक्रिया दिनुहोस्