चितवन । चितवनको रत्ननगर नगरपालिकाका पृथ्वीराज लामिछानेले १५ वर्षअघिसम्म मौरीको एउटै गोलाबाट वार्षिक ८५ किलोसम्म मह निकाल्थे । तर पछिल्ला वर्षहरुमा उनलाई प्रतिगोला २५ किलो मह उत्पादन गर्न पनि कठिन भएको छ ।
“विसं २०५३ देखि दुई गोलाबाट मौरीपालन व्यवसाय गर्दै आएको हुँ । विसं २०६३ सम्म एउटा गोलाबाट ८० देखि ९० किलोसम्म मह काढ्थेँ”, उनले भने, “अहिले निरन्तर घट्दै गएर वार्षिक २५ किलो मह पनि उत्पादन हुँदैन ।”
खर्च कटाएर एउटै गोलाबाट रु १० हजारसम्म आम्दानी गरेका उनलाई अहिले मुस्किलले रु पाँच हजार पनि बचाउन अप्ठेरो छ । यसरी महको उत्पादकत्व घट्दै गएपछि उनले मौरीको सङ्ख्यासमेत घटाउँदै आएका छन् ।
“पाँच वर्ष अगाडि ५०० भन्दा बढी गोला मौरी चर्न जान्थ्यो”, उनले भने, “बजार र उत्पादनको समस्याले गर्दा मौरी घटाउँदै २०० गोलामा झारेको छु ।”
चरन क्षेत्रको अभाव, वन विनाश, वन अतिक्रमण, बालीनालीमा विषादीको प्रयोग, जलवायु परिवर्तनको प्रभावलगायत कारण बर्सेनि मह उत्पादन घट्दै गएको बताइएको छ । विकास निर्माणका क्रममा स्थानीय वनजङ्गलमा चिउरी, रुदिलोलगायतका बोटबिरुवा नास हुँदै जाँदा किसानहरु मौरी चराउन देशका विभिन्न भाग पुग्ने गरेको छन् ।
“पहिलो सिजनमा चिउरी र तोरीको लागि दाङ र प्युठान, यसपछि क्रमशः कपिलवस्तु, चितवन, बर्दिबास, सर्लाहीलगायतका पूर्वका जिल्लामा मौरी चराउन लैजान्छौँ”, १५० गोला मौरीपालन गर्दै आएकाका रत्ननगरका सुरेन्द्र मानन्धरले भने, “मौरीका लागि चरन क्षेत्र अभाव हुँदा वर्षमा १२ स्थानमा सार्नुपर्छ ।”
चरनका लागि उनीहरुले प्रतिगोला रु ५० देखि १०० सम्म सामुदायिक वनलाई दिने गरेका छन् । पछिल्लो समय जिल्लामा मौरीपालक किसान बढ्दै गएका छन् ।
यहाँ ५०० भन्दा बढी किसान छन् । हालसम्म जिल्लामा ३० हजार गोला मौरी रहेको अनुमान छ । तीन वर्षका तुलनामा मौरीका गोला ३० प्रतिशतले बढेको छ तर, किसानको आकर्षण बढेपनि चरणलगायतका कारण महको उत्पादकत्व भने घट्दै गएको मौरीपालन महासङ्घका अध्यक्ष शिवप्रसाद पौडेलले बताए । रासस ।
प्रतिक्रिया दिनुहोस्