Ads

भारतीय तिर्थयात्रु हैरान


सुनसरीको बराहक्षेत्र नगरपालिका स्थित चतरा धाममा एकमहिने लागेको कुम्भ मेलामा स्नान गर्न आउने भारतीय धार्मिक प्रर्यटकहरुले अनावश्यक हैरानी व्यहोर्नु परेको गुनासो गरेका छन् । ट्राफिक जाँचको नाममा अनावश्यक दुःख दिने र विभिन्न बहानामा रकम असुली गर्ने कामबाट धार्मिक पर्यटकहरु निरुत्साहित देखिएका छन् ।

नेपाल प्रवेश गर्ने वित्तिकै पटक पटक चेकिङ्गको नाममा विभिन्न बहाना बनाएर दुःख दिने गरेको उनीहरुले बताएका हुन् । १२ वर्षपछि आयोजना गरिएको महाकुम्भ मेलामा स्नान गर्न भारतबाट दिनहुँ ठूलो संख्यामा भक्तजनहरु आउने गरेका छन् ।

जोगवनी नाका हुँदै नेपाल प्रवेश गर्न साथ ठाउँठाउँमा चेकिङ्ग गर्ने र दुःख दिने, कतिपय ठाउँमा अवैध रुपमा रकम माग्ने र असुली गर्ने काम भएको बिहार बलुवाबाट आएका रमेश झाले बताए । नेपाल प्रवेश गर्नासाथ धेरै ठाउँमा अवरोध भएको र झमेला लगाएर दुःख दिएको उनले बताए । प्राकृृतिक र धार्मिकस्थल अवलोकनका लागि उत्साह बोकेर आउने भारतीय पर्यटक गुनासो बोकेर फर्किने गरेको उनले बताए । नाकामै भारतीय पर्यटकले भोग्नुपरिरहेको सास्तीबारे कसैले पनि सुनुवाइ नगरेको स्थानीय अशोक साहको अनुभव छ । चैत महिनाको शुक्ल प्रतिपदादेखि वैशाख शुक्ल अक्षय तृतीयासम्म एक महिना चल्ने गरी चतरामा पूर्ण महाकुम्भ मेला लागेको छ ।

Ads

सम्बन्धित पोष्टहरू