बाजुरा । बाजुराको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयले अस्थायी अनुमति दिएको छ बडिमालिका र बुढीनन्दा नगरपालिकाका जनप्रतिनिधिको संयुक्त बैठकले बस सेवा सञ्चालन गर्न अनुमतिको मागेका थियो ।
बस सेवा सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारीसहितको सर्वपक्षीय बैठकले चार पालिकाका नागरिकलाई आवतजावत गर्न सहजता हुने गरी बस सेवा नियमित रूपमा सञ्चालन गर्ने अनुमति दिएको सहायक प्रमुख जिल्ला अधिकारी रामकुमार तिमल्सेनाले जानकारी दिए । बैठकले मार्तडी(कोल्टी सडकखण्डमा यातायात व्यवसायीसँग रात्रि बसको हकमा आठ वर्ष ननाघेका तथा दिवा बसको हकमा १० वर्ष ननाघेका कम्तीमा पाँचवटा बस हुनुपर्ने निर्णय भएको उनले बताए ।
बुढीनन्दा, बडिमालिका र बुढीगङ्गा नगरपालिकाले मर्मतसम्भार गरी सडक सञ्चालन गर्ने, सडक किनारका संरचना तत्काल हटाउन आवश्यक प्रबन्ध गर्ने निर्णय भएको छ ।
मार्तडी–कोल्टी सडकखण्ड निर्माण नभइसकेकाले तत्काल बस सेवा सञ्चालन गर्न कठिन हुने बस व्यवसायी रामचन्द्र गिरीले बताए । यो सडक शिलान्यास भएको २५ वर्ष बितिसक्दा पनि त्यो अझै पूरा भएको छैन ।
प्रतिक्रिया दिनुहोस्