काठमाडौं। सबै सेवा प्रदायकको नेटवर्कमा कुराकानी गर्न सकिने गरी नेपाल टेलिकमले आकर्षक प्याकेजको घोषणा गरेको छ।
नयाँ व्यवस्था अनुसार टेलिकमले जुनसुकै नेटवर्कमा ५०० मिनेटसम्म कुराकानी गर्न सकिने गरी प्रिपेडमा २८ दिनको प्याक ल्याएको छ। जसको मूल्य दुई सय ६५ रुपैयाँ तय गरिएको छ। यस्तै १२०० मिनेटसम्म कुराकानी गर्न सकिने ३५ दिनको प्याक पाँच सय ५० रुपैयाँमा उपलब्ध गराइएको टेलिकमले जनाएको छ।
यसैगरी बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म कुराकानी गर्न सकिने अनलिमिटेड अल नेट डे भ्वाइस प्याक र राति १० बजेदेखि बिहान ७ बजेसम्म जुनसुकै सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न सकिने अनलिमिटेड अल नेट नाइट प्याक जम्मा २५ रुपैयाँमा खरिद गर्न सकिने टेलिकमले जनाएको छ। साथै, आवश्यकता अनुसार बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म १२ रुपैयाँमा ३० मिनेट र १५ रुपैयाँमा १२० मिनेट जुनसुकै नेटवर्कमा कुराकानी गर्न सकिने अल नेट डे भ्वाइस प्याक पनि उपलब्ध गराइएको छ।
नयाँ प्याकहरु चैत १७ गतेदेखि बैशाख ४ गतेसम्म खरिद गर्न सकिने कम्पनीले जनाएको छ। कम्पनीले पहिलेदेखि नै उपलब्ध गराइरहेका अन्य विभिन्न प्याकहरु यथावत् रहेका प्रवक्ता शोभन अधिकारीले सञ्चारकर्मीहरुलाई जानकारी दिए।
अनलिमिटेड पोस्टपेड र प्रिपेड प्याक पनि थप आकर्षक बनाइएका छन्। जसअनुसार पाँच सय ९९ रुपैयाँमा कम्पनीभित्रकै नेटवर्कमा असीमित कुराकानी गर्न सकिने प्याकमा अन्य सेवा प्रदायकको नेटवर्कमा २५० मिनेट कुराकानी गर्न सकिने सुविधा थप गरिएको छ। अब पाँच सय ९९ रुपैयाँमा कम्पनीको नेटवर्कमा असीमित कल गर्न र अन्य नेटवर्कमा २५० मिनेट कल गर्न वा प्रतिदिन १ जीबी डाटा चलाउन सकिने छ।
सात सय ९९ रुपैयाँमा कम्पनीभित्रकै नेटवर्कमा असीमित कुराकानी गर्न सकिने प्याकमा अन्य सेवा प्रदायकको नेटवर्कमा ५०० मिनेट कुराकानी गर्न सकिने र २०० वटा सन्देश पठाउन सकिने व्यवस्था मिलाइएको छ। यो प्याकमा प्रतिदिन १ जीबी डाटा समेत चलाउन सकिने टेलिकमको विज्ञप्तिमा उल्लेख छ।
नौ सय ९९ रुपैयाँ र एक हजार ४९९ रुपैयाँको प्याकमार्फत कम्पनीभित्रको नेटवर्कमा असीमित कुराकानी गर्न सकिनुका साथै अबदेखि अन्य सेवा प्रदायकको नेटवर्कमा पनि असीमित कुराकानी गर्न सकिने (अल नेट अनलिमिटेड) सुविधा उपलब्ध हुनेछ। त्यसैगरी यी प्याकमा क्रमशः प्रतिदिन २ जीबी र ४ जीबी डाटा तथा ४०० वटा र १००० वटा अल नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ। यी प्याकहरु पोस्टपेड मोबाइलमा ३० दिन र प्रिपेड मोबाइलमा २८ दिनका लागि उपलब्ध हुने टेलिकमले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्