बागलुङ । असारको महिना । सिमसिम पानी परिरहेको थियो । गाउँमा खोलाको पानी ल्याएर रोपाइँ गर्ने चटारो थियो । पुर्खाैली सिँचाइ कुलो साँघुरो भएकाले गाउँले मिलेर खोलाबाट खेतसम्मको कुलो सरसफाईको काममा खटिरहेका थिए । उक्त घटना २०७२ सालको हो । रेश नुन्थलाको फाँटमा आउने सिँचाइ कुलो मर्मत भइरहेका बेला माथिबाट आएको पहिरोले गाउँका केही किसान च्यापिए । समूहमा काम गरिरहेकामध्ये पहिरोले च्यापिनेमा थिइन् झुपा थापा । केहीबेर अघिसम्म कुलोमा रहेको ढुङ्गामाटो पन्छाउन कस्सिएकी झुपाका हात नचल्ने भए ।
खुट्टा च्यापिएर भाचिँए । टाउको र जीउभरि चोटैचोट लाग्यो । कुलोमै रहेका अरु गाउँलेले झुपालाई अँठिएको अवस्थाबाट उद्वार गरेर तत्कालै अस्पताल पुर्याइयो । केही दिन अस्पताल राखेर फलामको रडको सहयाताले उनका हातखुट्टा चल्ने बनाइयो । अहिले झुपाका हातगोडा घटना हुनुअघिको जस्तो चल्दैनन् । उनि अहिले अपाङ्गता भएकी व्यक्तिको समूहमा पर्छिन् ।
काठेखोला गाउँपालिका–७ रेशकी झुपा थापा विपत्तिमा परेर घाइते भएपछि उनले निकै कष्टका दिन काटिन् । घरखर्च चलाउनका लागि श्रीमान् विदेशिएपछि दुई सन्तानको लालनपालन र पठनपाठन उनकै काँधमा थियो । जीविकोपार्जनसँगै घर खर्च, छोराछोरी पढाइ र अन्य व्यवहार उनको कर्तव्य बनेर आयो ।
अपाङ्गतासँग जुधिरहेकी झुपालाई समाज, चालचलन र परिस्थितिसँगै जुध्नुपर्ने थियो । काठेखोला गाउँपालिकाले उनलाई ‘ग’ वर्गको अपाङ्गता परिचयपत्र दिएको छ । सरकार र समाजले अपाङ्गता भएका व्यक्तिका लागि दिने सुविधा झुपाले सोही परिचयपत्रको प्रयोगमार्फ लिँदै आएकी छिन् ।
श्रीमान् विदेशबाट फर्केपछि परिवारको खर्च चलाउने बाटो ज्याला मजदुरी र खेती किसानी हो । शरीरभरि रडको जालो भएकाले झुपाले पहिलेको जस्तो काम गर्न सक्दिनन् । जसोतसो खेतीपाती र ज्याला मजदुरीबाट परिवारको खर्च व्यवस्थापन हुँदै आएको उनले बताइन् ।
नजिकको सरकारले यसरी सामाजिक सुरक्षामा ध्यान दिएर आफूलाई कमाउने कला सिकाउला भन्ने कल्पना नि नगरेको झुपाको भनाइ छ । अहिले स्थानीय सरकारले दिएको कमाउने कला (सीप) मार्फत परिवारको खर्च जुटाउन सक्षम भएकामा उनले खुसी व्यक्त गरिन् ।
‘क’ र ‘ख’ वर्गको अपाङ्गता भएका व्यक्तिलाई मासिक भत्ता दिने गाउँपालिकाले अरु अपाङ्गता भएका व्यक्तिका लागि सीप र बीउपुँजी दिने गरेको छ । वडा कार्यालयले गरेको सिफारिसका आधारमा गाउँपालिकाले आम्दानीसँग जोडिनेगरी सीप र बीउपुँजी दिने गरेको हो ।
झुपाले बाख्रापालन थालेकी छिन् । गत आर्थिक वर्षमा गाउँपालिकाले उहाँलाई बीउँपूजी स्वरुप माउ बाख्रा निःशुल्क उपलब्ध गराएको थियो । गाउँपालिकाले दिएको बाख्राले एकै बेतमा तीनवटा पाठा पाएपछि काम गर्न थप उत्साह मिलेको उनको भनाइ छ । छ महिनामै झुपाले छ महिनालाई पुग्ने घरखर्चको जोहो गरिन् भने माउबाख्रा पनि थपिन् । गत आवमा गाउँपालिकाले झुपालगायत पालिकाभित्र अपाङ्गता भएका व्यक्तिका लागि बिउँपूजी माउ बाख्रा निःशुल्क उपलब्ध गराएको थियो ।
गाउँपालिकाले दिएका बाख्रा सबै अपाङ्गता भएका व्यक्तिहरुले पालेका छन् । केहीले राम्रो आम्दानी गरेका छन् भने कसैको औषत प्रगति गरिरहेका गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापा (तिलक)ले बताए । “सामाजिक सुरक्षा हाम्रो दायित्व हो । हामीले भत्ता मात्रै होइन आम्दानी गर्ने बाटो पनि सिकाउँछौँ भनेर लागेका छौँ”, उनले भने, “माछा मारेर खान दिने होइन माछा मार्न सिकाउने अभियानमा हामी लागेका छौँ ।”झुपालगायत गाउँपालिकाका ‘ग’ वर्ग भन्दामाथिका अपाङ्गता भएका व्यक्तिहरूको प्रगति देखेर गाउँपालिकाले थप सीपमूलक योजना बनाइरहेको जनाएको छ ।
गाउँपालिकाले अपाङ्गता भएका व्यक्ति, न्येष्ठ नागरिक र पछि परेका समुदायलाई विशेष योजना बनाएर काम गर्दै आएको गाउँपालिकाका अध्यक्ष राजु थापाले बताए । मेहनत गर्न सक्नेहरूका लागि बीउपुँजी, सीप र प्रविधि हस्तान्तरण गर्ने, नसक्नेहरूका लागि जीवन निर्वाह गर्ने वातावरण मिलाउने काममा पालिका लागेको उनको भनाइ छ । पछि परेका समुदायकालाई उत्पादनसँग जोडेर आम्दानी गर्ने वातावरण बनाइएको अध्यक्ष थापाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्