काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई चुनावमा हराएर अनेकौ षड्यन्त्र असफल बनाउने जिम्मेवारी नेपाली जनताको रहेको बताएका छन् ।
आज(बिहिबार) नेकपा एमाले बाँकेले नेपालगञ्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले मुलुकको विकास र समृद्धिका लागि स्थानीय तहको निर्वाचनमा जनताले एमालेलाई नेतृत्वमा पुर्याउनु पर्ने बताएका हुन् ।
आगामी बैशाख ३० गते हुने चुनावमा एमालेले जितेमा मात्रै देशमा विकास निर्माणको काम द्रुत गतिमा अगाडि बढ्ने उनको भनाइ छ ।
एमाले सरकारबाट हटेका कारण नै देशको अर्थतन्त्र ध्वस्त भएको बताउँदै देशलाई गरिब हुनबाट बचाउन र यी सबै समस्याबाट पार पाउन आगामी चुनावमा एमालेलाई नै जिताउनका लागि सबै जनातामा आग्रह गरेका छन् ।
त्यस्तै अध्यक्ष ओलीले हालै बाँकेको नरैनापुरमा भएको आगलागीमा परेका १६ घरपरिवारलाई जस्तापाता र एक-एक लाख रकम दिने घोषणा समेत गरेका छन् । समृद्ध नेपालका लागि एमालेको विकल्प नरहेको बताउँदै गठबन्धन सरकारबाट देशको विकास हुन नसक्ने उनको भनाइ छ ।
आजको कार्यक्रममा अध्यक्ष ओलीले नेकपा (समाजवादी) पार्टीका उपसचिव किशोर थापासहित करिब सात सय कार्यकर्तालाई पार्टीमा प्रवेश गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्