बाग्लुङ ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालमा पछिल्लो समय पर्यटन व्यवसाय फस्टाउँदै गएको बताएका छन् । उनले धार्मिक, भौगोलिक र शैक्षिक पर्यटनको गतिविधि बढेकाले नेपालमा कल्पना गरेभन्दा बढी पर्यटक आउने सम्भावना रहेको बताए ।
चैतेदशैँको दिन बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले बागलुङमा आयोजना गरेको चैतेदशैँ मेलामा अध्यक्ष तिमिल्सिनाले धार्मिक पर्यटकको सम्भावना नेपालमा बढेर गएको उल्लेख गरे । बागलुङ कालिका, लामो झोलुङ्गे पुल, मुक्तिनाथलगायत क्षेत्रमा पर्यटकको चाप अत्यधिक रहेको उनको भनाइ छ ।
“चैतेदशैँ बागलुङको पहिचानमात्रै नभएर नेपालकै पहिचान बनिसक्यो, अहिले कालिका मन्दिरमा टेक्ने ठाउँ छैन”, अध्यक्ष तिमिल्सिनाले भने, “अब नेपालमा कल्पना गरेभन्दा बढी पर्यटकीय गतिविधि हुनेछ ।
अध्यक्ष तिम्सिनाले रामरेखाबाट अदुवाबारी जोड्ने लामो झोलुङ्गे पुलका कारण बागलुङ र पर्वतको पहिचान अन्तर्राष्ट्रियकरण भएको बताए ।
उनले ढोरपाटन, पञ्चकोट, शालग्राम सङ्ग्रहालय, कालिका मन्दिर र पञ्चकोटका कारण बागलुङमा दिनानुदिन पर्यटकीय गतिविधि बढिरहेको बताउँदै यहाँ सुविधाका लागि होटल, सुरक्षालगायत संरचना बढाउँदै लैजानुपर्नेमा जोड दिए ।
आगमी स्थानीय तहको निर्वाचनमा निष्पक्ष, भयरहित र चाहेको व्यक्तिलाई भोट हाल्ने वातावरण बनाउन सरकार, राजनीतिक दल र सुरक्षा निकायले ध्यान दिनुपर्नेमा उनको जोड थियो ।
तिमिल्सिनाले जननिर्वाचित व्यक्ति सत्ता र शक्तिका लागि मरिमेट्न थालेको बताउँदै जनप्रतिनिधिले जनताको हितमा काम गर्नुपर्ने उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्