पोखरा । नेकपा एमाले पोखरा महानगर कमिटीले आन्तरिक मतदानबाट मेयर र उपमेयरको उम्मेदवार छान्ने भएको छ ।
छलफलबाट सहमति जुटन् नसकेपछि आज (शुक्रबार)का लागि मतदानको तयारी गरिएको हो । मनोनयन पनि आजै हुनेछ ।
सचिवालय बैठकले निर्वाचन मण्डल गठन गरेको छ । एमाले निकट अधिवक्ताहरू कमल अर्याल, जुना गुरुङ, भगवती पहारी र यामबहादुर खत्री सम्मिलित निर्वाचन मण्डल बनाइएको हो ।
निर्वाचन मण्डलले निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरिसकेको छ । यसअघि मंगलबार आकांक्षीको नाम टिपिए पनि पुनः नयाँ प्रक्रियाबाट मनोनयन गर्न लागिएको हो ।
मेयरमा प्रदेशसभा सदस्य कृष्णबहादुर थापा र राजीव पहारीसहित वडाध्यक्ष लेखबहादुर तामाङ, व्यवसायी पुष्पज्योती ढुंगाना, पुष्पराज अधिकारी, महानगरका पुर्व अध्यक्ष दिपक पौडेल, बालासिंह काउचा मगर, सावित्री भण्डारी, मीनाकुमारी गुरुङ, भीमबहादुर कार्की, रश्मी आचार्य र प्राडा विश्वकल्याण पराजुलीले आकांक्षा देखाएका छन् ।
उपमेयरका लागि एमाले कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारी, सचिव बैनबहादुर अधिकारी क्षेत्री, पत्रकार सुष्मा पौडेल, वडाध्यक्ष शोभामोहन पौडेल र जीवन आचार्य, बामदेव ढुंगाना, टिकाराम पंगेनी, व्यवसायी संजीव बहादुर कोइराला, देवका पहारी त्रिपाठी, बलराम गायक गन्दर्भ र हरिमाया गुरुङले नाम दर्ता गराएका थिए ।
आकांक्षीहरुले पुनः मनोनयन गर्नुपर्ने भएपछि पहिले नाम टिपाएकाभन्दा बाहिरकाले समेत मनोनयन पर्ने सम्भावना देखिएको छ ।
पोखरा महानगरपालिकामा नेकपा एमालेको प्रभाव राम्रो रहेको छ । उम्मेदवार प्रभावी छान्न सक्दा एमालेलाई जित सुनिश्चित गर्न थप सहज हुने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्